१६ वैशाख, काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीका कप्तान विशाल बिक्रम केसीले नेपाल र थाइल्याण्डको पिचको अवस्थामा धेरै नै फरक परे पनि आफूहरुको मेहनत सफल भएको बताएका छन् ।
फाइनलमा मलेसियलाई ५९ रनले हराएर उपाधि जितेको नेपाली टोलीका लागि पिचको अवस्थाले ब्याटिङ बुझेर गर्न कठीन रहेको उनको भनाइ छ ।पाँच खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिएका कप्तान केसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत चुनिएका थिए ।
‘हामी सबै नयाँ खेलाडी थियौँ । आत्मविश्वास भने राम्रो थियो । यो पटक हाम्रो मेहनत अनुसारकै नतिजा आएकोले खुशी छौँ’ उनले भने ।
प्रशिक्षक भन्छन् – अझै खेलाउनु पर्छ
नेपाली टोलीका प्रशिक्षक बसन्त शाही पनि युवा खेलाडीको प्रदर्शनले आफू खुशी रहेको बताएका छन् ।‘नेपाल क्रिकेट संघ (क्यान) नभएको अवस्थामा पनि नेपाली क्रिकेटले पाइरहेको उपलब्धी ठूलो छ । खेलाडीको मेहनतको बलमा मात्रै हामी अगाडि बढ्नु परिरहेको छ । यस्तो अवस्थामा पनि यो नतिजा ठूलो कुरा हो’ उनले भने ।क्रिकेटको विकासका लागि अझ खेलहरु खेलिरहने मौका पाउने हो भने भविष्य राम्रो रहेको बताउँदै उनले भने, ‘सबै खेलाडीको मेहनतले पाएको उपलब्धीमा हामी सन्तुष्ट छौँ । तर केही प्रतियोगिता मात्रैले नेपालको क्रिकेट सुध्रिदैन । वास्तविक क्रिकेट सुधार्न धेरै भन्दा धेरै खेल खेलाउन आवश्यक छ ।’अनलाइन खबर
Views: 0