रातो जस्तामा घलेगाउँ चिटिक्क

२०७६ बैशाख १८, बुधबार ०९:१७ गते २०७६ बैशाख १८, बुधबार ०९:१७ गते २०७६ बैशाख १८, बुधबार ०९:१७ गते

लमजुङ – हिमालको काखमै छ, लमजुङको घलेगाउँ । प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उत्तिक्कै धनी छ, घलेगाउँ ।लमजुङको क्वहोलासोँथर गाउँपालिका–३, मा पर्ने घलेगाउँ दक्षिण एसियाकै नमूना पर्यटकीय गाउँको रुपमा समेत परिचित छ । स्वदेश तथा विदेशमा घलेगाउँ परिचित छ । स्वदेशी तथा विदेशी दुवै पर्यटकको रोजाइमा पनि छ, घलेगाउँ ।यस गाउँबाटै बुद्ध, मनास्लु, ङादीचुली (डा.हर्क पिक) हिमाल, उत्तरमा अन्नपूर्ण (दोश्रो र चौथो), लमजुङ हिमाल र पश्चिममा माछापुच्छ्रे हिमाल देख्न सकिन्छ । गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ ।

गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेँडीगोठ पनि घलेगाउँका आकर्षण हुन् ।स्थानीयको न्यानो आतिथ्यता साथै घाँटु, कृष्ण चरित्र, घ्याब्रे, पच्यू, शोक नाचलगायतका परम्परागत संस्कृति, स्थानीय परिकारको स्वाद चाख्न पाउँदा र प्राकृतिक दृश्यमा टहलिन पाउँदा यहाँ पुग्ने जोकोही ‘मक्ख’ पर्छन् ।

घरको छानाले मन लोभ्याउँछ

घलेगाउँसम्म पुग्ने पर्यटकलाई लोभ्याउँछ, गाउँमा रहेका घरहरुले । नजिक–नजिक रहेका । झट्ट हेर्दा प्रायः एकै किसिमका लाग्ने । अनि एकै प्रकारको जस्ताले छानो छाइएका घर देख्दा पर्यटकको मन लोभिन्छ ।

यसअघि यहाँका स्थानीयले कसैले सादा, कसैले नीलो जस्ताले छानो छाएका थिए । तर अहिले स्थानीयले एक रुपता ल्याउन र आकर्षक बनाउन आफ्नो घरको छानो रातो रंगले छाएका छन् ।

त्यसैले पनि अहिले गाउँको प्रवेशद्वारमा पुग्ने बित्तिक्कै राताम्य देखिन्छ, घलेगाउँ । रातो जस्तामा चिटिक्क सजिएको छ, घलेगाउँ । यसले पनि पर्यटकको ध्यान खिचेको छ ।

‘स्मार्ट भिलेज’को रुपमा अघि बढ्दै

पर्यटन प्रवर्द्धनकै लागि घलेगाउँ अहिले ‘स्मार्ट भिलेज’को रुपमा अघि बढिरहेको छ । गाउँ ‘स्मार्ट भिलेज’तर्फ उन्मुख भएसँगै गाउँका सबै घरको छानोमा एकैप्रकारको रातो रंगको जस्ता लगाइएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकले बताउनुभयो ।उहाँका अनुसार दशकौँ पुराना जस्ताको छाना हटाएर रंगीन जस्ताले घरको छाना सजाइएको हो ।स्मार्ट भिलेज’ बनाउने योजना अनुसार नै घलेगाउँका सबै घरमा एउटै रंगको छानो छाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमै २९ लाख ४७ हजार रुपैयाँ सहयोग गरेको पनि उहाँले बताउनुभयो ।यसैगरी, क्व्होलासोँथर गाउँपालिकाले पनि १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट घलेगाउँका १ सय २० घरमा रातो रंगको छानो राखिने भएको हो ।

‘घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढिरहेको छ । हामी आवश्यक पुर्वाधार निर्माणमा लागिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माण अन्तर्गत पहिलो चरणमै हामीले गाउँमा रहेका सबै घरको छानो एउटै रंगको जस्ताले छाउने काम अघि बढाएका हौँ ।’उहाँका अनुसार रातो जस्ताले घरको छानो छाउने कार्य ९० प्रतिशतले सकिएको छ ।‘केहीले घर छाइसके । केहीले छाउँदै छन्,’ उहाँले भन्नुभयो, ‘बजेट अभावका कारण यस वर्ष गाउँमा रहेका ९५ प्रतिशत घर छाउने र बाँकी ५ प्रतिशत घर आउँदो वर्ष छाइनेछ ।’घलेगाउँमा अहिले ३४ घरले होमस्टे चलाएका छन् । लमजुङ बेसीशहरदेखि झण्डै २ घण्टाको सवारी यात्रामा घलेगाउँ पुग्न सकिन्छ भने पैदल हिँडेर ५ घण्टामा पुग्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *