चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिनपिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।उनले दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आव्हान पनि गरेका छन् ।चिनियाँ राष्ट्रपति जिनपिङले यो सम्बन्धले दुई देश र नागरिकलाई प्रत्यक्षरुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् ।
उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सि जिनपिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित लेखमा उनको यो धारणा आएको हो ।राष्ट्रपति सि जिनपिङले भोलिदेखि उत्तर कोरियाको दुई दिने भ्रमण गर्दैछन् ।
उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुनेछ । सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले भ्रमण गरेपछि चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छैनन् ।
यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् ।सो लेखमा राष्ट्रपति जिनपिङले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ–उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको, यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाइमा पुरर्याउने विश्वास व्यक्त गरेका छन् ।राजधानी डेली
Views: 0