होटल हायात खुले पनि मजदुर विवाद कायमै ; समस्याको सम्बोधन नभए पुनः आन्दोलन-युनियन

२०७६ असार ७, शनिबार ०७:२० गते २०७६ असार ७, शनिबार ०७:२० गते २०७६ असार ७, शनिबार ०७:२० गते

काठमाडौं– मजदुर विवादसँगै केही दिन बन्द भएको पाँचतारे होटल हायात (तारागाँउ रिजेन्सी होटल्स लिमिटेड) तत्कालका लागि खुले पनि मजदुर विवाद भने कायमै छ।मालिक र मजदुरबीचका समस्या समाधानका लागि पहल गर्ने भन्दै श्रम तथा रोजगार कार्यालय टेकुले पत्राचार गरेपछि काममा फर्किएका कामदारहरुले आफ्ना समस्या सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने बताएका छन्।

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले कामदारहरु काममा फर्किएपछि फेरि पनि होटलको व्यवस्थापन पक्षले युनियनमा आबद्ध ९ जना कर्मचारीहरुलाई स्पष्टीकरण सोधेर हैरानी बनाएको बताए।

होटल सञ्चालनमा आए पनि मजदुरका माग सम्बोधन नगरिए फेरि पनि आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए। उनले भने, ‘युनियनमा आबद्ध होटलका कर्मचारीहरुलाई अनावश्यक स्पष्टीकरण सोधिन थालेको छ, श्रम कार्यालयले समस्या समाधान गराइदिने पत्राचार गरेसँगै हामी काममा फर्किएका हौं, समस्या सम्बोधन नभएमा हामी पुनः आन्दोलनमा जान बाध्य हुनेछौँ।’कर्मचारीहरुलाई श्रम ऐन अनुसार सेवासुविधा उपलब्ध गराउन आनाकानी गरेको र अनावश्यक स्पष्टीकरण सोधिएको भन्दै कर्मचारीहरुले जेठ ३० गतेदेखि पूर्ण रुपमा होटल ठप्प पारेका थिए।

होटलको सबै काम ठप्प भएसँगै गत असार २ गतेदेखि होटल व्यवस्थापन पक्षले नै नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’लाई पत्र लेख्दै अनिश्चितकालका लागि होटल बन्द भएको घोषणा गरेको थियो।त्यसपछि होटलको अन्तर्राष्ट्रिय बुकिङ बन्द गराई विदेशी पर्यटकहरुलाई समेत अन्यत्र होटलमा सारिएको थियो। ६ दिन ताला लागेको होटल एकाएक कर्मचारी काममा फर्किएपछि गत बुधबारदेखि सञ्चालनमा आएको हो।

मजदुर विवाद चुलिएर होटलको काम ठप्प भएसँगै प्रतिष्ठानको व्यवस्थापन पक्ष तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरुको विवाद समाधानका लागि श्रम ऐन तथा नियमावली प्रदत्त अधिकारको अबलम्बन गरी विवाद समाधान गर्नुपर्ने भन्दै गत मंगलबार श्रम तथा रोजगार कार्यालयले होटल व्यवस्थापन पक्षलाई पत्राचार गरेको थियो।

छलफलबाट विवाद समाधान गर्न युनियन तथा व्यवस्थापन पक्षलाई अनुरोध गर्दै तत्काल आन्दोलनरत मजदुरहरुलाई काममा फर्कन श्रम कार्यालयले पत्राचार गरेसँगै होटल पुनः सञ्चालनमा आएको हो।

होटलका मानव संशाधन संयोजक सुरेश केसीले भने कुनै समझदारीबिना नै कामदार आफैं काममा फर्किएको र अनावश्यक माग राखे फेरि होटल बन्द गर्न बाध्य हुने अडान राखे।

‘नियम उल्लङ्घन गर्ने र युनियनको आड लिएर आन्दोलनमा उत्रिने कर्मचारीका अनावश्यक मागलाई फेरि पनि हामी सम्बोधन गर्न सक्दैनौं,’ उनले भने, ‘५ दिनको हडतालले होटलले निकै ठूलो घाटा बेहोर्नुपरेको छ, पहिलेकै अवस्थामा होटल रिकभर हुन अझै ५/६ महिना लाग्छ।’कर्मचारीहरु अनावश्यक माग राखेर सानो स्पष्टीकरणको कुरालाई लिएर हडतालमा उत्रिने गरेकाले माग सम्बोधन गर्न नसकिने व्यवस्थापन पक्षको अडान कायमै छ।होटल हायातमा मजदुर विवाद नयाँ भने होइन। होटलको आधिकारिक ट्रेड युनियनले होटल हायातमा काम गर्ने कर्मचारीले श्रम ऐन तथा सम्झौताअनुसार सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दिएको थियो।

सो विवाद श्रम कार्यालय टेकुमा समाधान हुन नसकेपछि २०७३ मंसिर ७ गते आधिकारिक ट्रेड युनियनले श्रम अदालतमा होटलविरुद्ध मुद्दा दर्ता गराएको थियो। ०७५ बैसाख २० गते कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराइनुपर्ने भन्दै श्रम अदालतले फैसला सुनाएको थियो।

अदालतमा होटलविरुद्ध कर्मचारी तथा आधिकारिक ट्रेड युनियनले पटक-पटक मुद्दा दर्ता गराउँदै आइरहेको अदालतका रजिस्ट्रार जीवन भण्डारीले जानकारी दिए।आवश्यक सेवा सुविधा नदिई कामबाट निष्कासन गरिएको भन्दै होटलविरुद्ध पटक-पटक मुद्दा परेका छन्। केही मुद्दा अझै विचाराधीन रहेको अदालतले जनाएको छ।

०७५ बैसाख २० गतेको अदालतको फैसला कार्यान्वयन नभएको भन्दै फेरि पनि श्रम कार्यालयमा आधिकारिक ट्रेड युनियनले उजुरी गरेको थियो। उजुरीपछि पनि छलफलका लागि होटल व्यवस्थापन पक्षले आनाकानी गरेसँगै मजदुर विवाद चुलिएको थियो।होटल हायातमा ३ सयभन्दा बढी नेपाली र ४ जना भारतीय कामदारहरु कार्यरत रहेको होटलले जनाएको छ।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed