नेइमार बार्सिलोना फर्किनका लागि आफ्नो पारिश्रमिक घटाउनका लागि तयार भएका छन् । स्पेनिस पत्रिका स्पोर्टसका अनुसार उनले व्यक्तिगत रुपमा बार्सिलोना आउनका लागि गर्न सक्ने जति प्रयास गरेका छन् ।त्यसका लागि उनले आफूले अहिले पाउँदै आएको भन्दा झण्डै आधा पारिश्रमिक लिन पनि तयार रहेको बताएको खबरमा उल्लेख छ ।
नेइमारले बार्सिलोना फर्किनका लागि हप्ताको पाँच लाख ५० हजार पाउण्ड जति पारिश्रमिक भए हुने बताएको उल्लेख गरिएको छ । यस्तै सन् २०१७ मा आफूले नपाएको बोनसका लागि क्लब विरुद्ध गरेको उजुरी पनि फिर्ता लिन नेइमार तयार भएको बताइन्छ ।सन् २०१७ मा विश्वका महंगा खेलाडी बन्दै नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएको थिए । तर उनी पिएसजीमा खुशी हुन सकेनन् ।हालै उनले पिएसजीका अध्यक्षसँग आफूले क्लब छोड्न चाहेको बताएका थिए । पिएसजीका अध्यक्षले पनि नेइमारलाई रोक्न नचाहेको संकेत गरेका छन् । नेइमार व्यक्तिगत स्तरमा तयार भए पनि दुई क्लबबिच सम्झौता हुन बाँकी छ ।
बार्सिलोनाले पिएसजीलाई विकल्पसहितका प्रस्ताव पठाएको छ । ८९ मिलियन पाउण्ड तिर्ने र इभान रेकिटिक, उसमान डेम्बेले वा सामुयल उमटिटी पिएसजीले लैजान पाउने एउटा प्रस्ताव छ ।यस्तै अर्को प्रस्तावमा ९० मिलियन पाउण्ड र फिलिप कोन्टिन्होसहितको प्रस्ताव पनि बार्सिलोनाले गरेको छ । कोन्टिन्होले खेलाडी एक्सचेन्जमा आफू पर्ने सम्बन्धमा केही बताएका छैनन् । तर उनले नेइमारसँग खेल्ने इच्छा रहेको भने बताएका छन् ।देश संचार
Views: 0