काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट डिजाइन तथा सञ्चालनमा अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नी (टावर) बाधक हुने भएको छ। विमानस्थल सञ्चालनको आवश्यक फ्लाइट रुट डिजाइनमा उक्त सिमेन्ट उद्योगले निर्माण गरेको १ सय २४ मिटर अग्लो चिम्नीले समस्या सिर्जना गरेको आयोजना निर्देशनालयका प्रमुख प्रवेश अधिकारीले बताए।फ्लाइट रुट डिजाइनमा सिमेन्ट उद्योगले निर्माण गरेको चिम्नीले समस्या ल्याउने निश्चित भएपछि व्यवसायी पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगलाई लिखितरुपमै उचाई कम गर्न पत्र काटिएको अधिकारी बताउँछन्।
फ्लाइट रुट डिजाइन कार्य सुरु भएसँगै सिमेन्ट उद्योगले निर्माण गरेको चिम्नीको टावर घटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजनाले अर्घाखाँची सिमेन्ट उद्योग प्रालि रुपन्देहीलाई पत्राचार गरेको थियो। आयोजना निर्देशनालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकस्तरको निर्णयबाट चिम्नीको उचाई ४० मिटर घटाउन पत्र काटेको थियो।आयोजना निर्देशनालयले गत चैत १० गते लिखितरुपमै टावरको उचाई घटाउन उद्योगलाई पत्र काटेको अधिकारीले जानकारी दिए। पत्र काटेको ३ महिना भइसक्दा पनि उद्योगले कुनै लिखित जवाफ नदिएको उनको भनाइ छ।आयोजना निर्देशनालयको प्रमुखको हैसियतमा अधिकारी आफैंले प्राविधिकसहित टावरको स्थलगत अध्ययनसमेत गरको बताए।
स्थलगत अध्ययनसँगै सिमेन्ट उद्योगका प्रतिनिधिहरुसँगको छलफलमा चिम्नीले फ्लाइट रुट डिजाइनमा पार्ने समस्याको बारेका आफूले उनीहरुलाई जानकारी गराउँदा पनि ३ महिनासम्म उद्योगले कुनै प्रतिक्रिया नदिएको अधिकारीको भनाइ छ। ‘उद्योगको बैठक हलमा भएको छलफलमा मैले टावरको असरबारे उनीहरुलाई गणितीय हिसाबमा जानकारी गराएको थिएँ,’ अधिकारीले भने।‘बीचमा आयोजना निर्देशनालय पनि रन–वे पिचको काममा बढी व्यस्त हुँदा सिमेन्ट उद्योगलाई ताकेता गर्न सकेको थिएन’, अधिकारीले थपे, ‘अब फेरि उद्योगलाई चिम्नीको उचाई घटाउने विषयमा ताकेता गर्छौं।’
आयोजना निर्देशनालयले पत्र काटेपछि अर्घाखाँची सिमेन्टका प्रतिनिधि स्वयम् छलफलमा सहभागी भएका थिए। आयोजना कार्यालयमै छलफलमा लागि आएपछि आफूले उनीहरुलाई टावरका कारण उडानमा आउने समस्याको बारेका जानकारी गराएको अधिकारीको भनाइ छ।त्यसपछि फेरि आफैं प्राविधिकसहितको टोली लिएर स्थलगत अध्ययनमा गई उचाई कसरी घटाउनुपर्छ भन्ने विषयमा समेत सिमेन्ट उद्योगका प्रतिनिधिलाई जानकारी गराएको अधिकारीले बताए।छलफलको क्रममा उद्योगका प्रतिनिधिहरुले चिम्नीको उचाई किन घटाउनु पर्यो भनी प्रश्न गरेका थिए।
उद्योग प्रतिनिधिको प्रश्नमा आयोजना निर्देशनालय प्रमुखको हैसियतमा अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदन्डअनुसार सुरक्षामा यसले कसरी के असर गर्छ भन्ने विषयमा सुझाएका थिए। उद्योगका प्रतिनिधिलाई यसले उडान प्रक्रियाअनुसार विमान आवागमनको रुट डिजाइनमा समस्या ल्याउने जानकारीसमेत दिएको अधिकारीले जानकारी दिए।
आइकाओको उडान प्रक्रियाको रुट डिजाइन गर्ने, रुटको लम्बाई बढ्ने, घुमाउरो रुट पर्ने र हवाई सुरक्षामा समेत यसले असर गर्ने उद्योगका प्रतिनिधिलाई जानकारी गराएको उनको भनाइ छ। यसरी जानकारी गराउँदा पनि सिमेन्ट उद्योगले ३ महिनासम्म कुनै लिखित जवाफ नदिएको उनले नेपाल लाइभलाई बताए।
उद्योगले निर्माण गरको चिम्नी विमानस्थलबाट करिब ३ हजार २ सय ५० मिटरको दूरीमा छ। विमानस्थलको रन–वे पूर्वपश्चिम फर्किएको छ। चिम्नी रने–वेको उत्तरतिर पर्छ। उतरतिर पर्दा आइकाओको मापदण्डमा ४ किलोमिटरसम्म दूरीमा ४५ मिटरभन्दा अग्ला संरचना बनाउन नपाइने उल्लेख छ। सिमेन्टले निर्माण गरेको चिम्नी पनि ४ किलोमिटर भित्रै रहेका कारण उचाई घटाउन भन्दै पत्र काटेको अधिकारी बताउँछन्।
‘धावन मार्गको सतहदेखि ४५ मिटर (अधिकतम उचाई)सम्मका संरचना बनाउन पाइन्छ। त्योभन्दा माथि पाइँदैन। यो टावरको उचाई करिब १ सय २४ मिटर छ। तर, ४५ मिटर भनेको विमानस्थलको धावनमार्गको सतहसँग मात्रै हो। तर, त्यो संरचना खडा भएको स्थानको तह धावनमार्ग भन्दा केही तल्लो तहबाट नै निर्माण भएको हुँदा ४० मिटर मात्रै घटाउनु पर्ने देखिएकोले पत्राचार गरिएको हो’, अधिकारी भन्छन्।
यस विषयमा अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले अहिले कुनै प्रतिक्रिया नदिने बताए। उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका मुरारकाले आफूहरुका कारण विमानस्थल सञ्चालनका लागि तोकिएको समयसीमाभित्र कुनै असर नहुनेगरी काम गर्ने दाबी गरे।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको ३ हजार लामो रन–वे निर्माणको काम पनि सकिइसकेको छ।
विमानस्थल निर्माण आयोजनका अनुसार जुन २८ मा निर्माण सम्पन्न हुनुपर्ने भए पनि केही काम बाँकी रहेको भन्दै ६ महिनाको समय थपको तयारी समेत भइरहेको छ।विमानस्थलको भौतिक संरचना निर्माण गरिरहेको चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले विमानस्थलको निर्माण गरिरहेको छ। निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सन् २०१७ डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।
तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ सम्म समय थप गरेको थियो। थप भएको समयमा पनि विमानस्थलको आवश्यक पूर्वाधार निर्माणमा केही काम बाँकी रहेको भन्दै दोस्रो पटक समय थपको तयारी गरेको हो। विमानस्थल निर्माणको काम अब थप गरिने भनिएको ६ महिनाभित्रमा सकिने अवस्था समेत बनेको आयोजनाको दाबी छ।
निर्माण कम्पनीले पनि भौतिक संरचना निर्माणको अन्तिम चरणको काम गरिरहेको जनाएको छ।विमानस्थलको रन–वे निर्माणको काम सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडानको समेत तयारी गरिरहेको छ। साथै विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानको काम पनि भइरहेको छ।आगामी आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि भन्दै सरकारले बजेटमार्फत ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको छ।
Views: 0