हजुरबाबाट पाँच वर्षीया नातिनीमाथि कुकर्म, फुपूमार्फत प्रहरीमा जाहेरी

२०७६ असार १३, शुक्रबार २२:२० गते २०७६ असार १३, शुक्रबार २२:२० गते २०७६ असार १३, शुक्रबार २२:२० गते

काठमाडौं । प्रहरीले जबर्जस्ती करणीका धेरैजसो घटनामा परिवारभित्रै र चिनजानका व्यक्तिको संलग्नता रहने गरेको बताइरहेका बेला राजधानीमा आफ्नै हजुरबाबाट नातिनी बलात्कृत भएकी छन् । ललितपुर टीकाथली बस्दै आएका ५१ वर्षीय हजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई गत सोमबार राति बलात्कार गरेका हुन् । हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएको प्रहरीले जनाएको छ ।

नातिनीले आफूलाई हजुरबाले सुतेको अवस्थामा अर्काे कोठामा लगेर बलात्कार गरेको भन्दै फुपूसँग गुनासो गरेपछि फुपूमार्फत प्रहरीसमक्ष बलात्कारको जाहेरी परेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई पक्राउ गरेको हो । वृत्तका डीएसपी गौतम मिश्रले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।‘दाइसँग सुतिरहेकी नातिनीलाई आफू सुतेको कोठामा लगेर बलात्कार तथा अप्राकृतिक मैथुन गरेको भन्ने खुल्न आएको छ । थप अनुसन्धान हुँदै छ,’ डीएसपी मिश्रले राजधानीसँग भने।

प्रहरीले घटनामा संलग्नको नाम भने खुलाएको छैन । पीडित नाबालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परीक्षणको काम प्रसूति गृह थापाथलीमा भइरहेको र विस्तृत रिपोर्ट केही दिनमा आउने प्रहरीले बताएको छ ।आरोपीले आफूले बलात्कार गरेको स्वीकार गरिसकेकाले निजलाई नाबालिकाको बलात्कार र हाडनाता करणी समेत गरी दोहोरो सजायको माग गर्दै आरोपपत्र दर्ता गरिने प्रहरीले जनाएको छ । बलात्कार आरोपीकी ५० वर्षीया पत्नी केही दिनअघि स्तन क्यान्सरको शल्यक्रिया गरी आइतबार मात्रै भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएर डेरामा फर्केकी थिइन् । आइतबार रातिको घटना भए पनि पीडित नाबालिकाले हजुरआमालाई नभनी फुपूलाई घटनाबारे बताएकी थिइन् ।

नाताभित्रै असुरक्षित

प्रहरीले तयार गरेको एक तथ्यांकले नेपाली महिला घरभित्रकै सदस्य र चिनजानका व्यक्तिबाटै असुरक्षित रहेको देखाएको छ ।
प्रहरीले चालू आर्थिक वर्षको घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिबाटै हुने गरेको देखाएको हो । तथ्यांकले हजुरबा, बुबा, झड्केलो बुबा, ससुरा र आमा छोराबीच नै करणीका घटना भएको देखाएको छ ।

तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५÷०७६ को चैतसम्ममा भएका १ हजार ८ सय ७७ वटा जबर्जस्ती करणीका घटनामा ७ सय ६१ घटना चिनजानका व्यक्तिबाटै भएको देखाएको छ । यसैगरी, छिमेकीबाट ५ सय २ वटा करणीका घटना भएको देखाएको छ भने अपरिचित व्यक्तिबाट ३ सय ८९ वटा करणीका घटना भएको तथ्यांक छ ।

तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीनवटा घटना हजुरबाको संलग्नताबाट भएको पाइएको छ । यस्तै, ३९ वटा घटनामा बुबा÷झड्केलो बुबाको संलग्नता रहेको देखिएको छ भने ९ घटनामा ससुराको संलग्नता देखिएको छ ।
यसैगरी, चालू आर्थिक वर्षमा आमा छोराबीच समेत तीनवटा करणीका घटना भएको छ भने काका, मामा र ठूलो बुबाबाट १९ वटा करणीका घटना भएको प्रहरीसँग तथ्यांक छ ।

यस्तै, दाजुभाइ, काका र ठूलो बुबाको छोरा तथा मामाका छोराबाट १४ वटा करणीको घटना भएको छ भने बुहारी र जेठाजुबीच समेत आठवटा करणीका घटना भएको देखिएको छ ।जबर्जस्ती करणीका घटनामा आफ्नै श्रीमानको समेत संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको चैतसम्ममा १८ वटा करणीका घटनामा श्रीमान्को संलग्नता रहेको पाइएको हो । घरमा डेरा गरी बसेकासमेत घरबेटीबाट असुरक्षित रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षमा दुईवटा करणीका घटना घरमालिकबाट भएको तथ्यांकले देखाएको हो ।

यस्तै, ८७ वटा घटनामा केटा साथीको संलग्नता रहेको पाइएको छ भने भिनाजुबाट दुई, शिक्षकबाट १०, सम्बन्ध विच्छेद भएका श्रीमान्बाट १० र पहिचान नखुलेका व्यक्तिबाट एउटा जबर्जस्ती करणीका घटना भएको प्रहरीको तथ्यांकले देखाएको हो ।
प्रहरीको समग्र तथ्यांकले ६ प्रतिशत घटना घरभित्रकै सदस्यबाट भएको भनेको छ भने धेरै जसो घटनामा चिनजानका व्यक्तिको संलग्नता रहेको देखाएको छ। राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *