इटहरी– नेपाल कम्युनिष्ट पार्टी सुनसरीको स्थानीयतहको कमिटी टुङ्गो लागेको छ। नेकपा प्रदेश कमिटीको बिहीबार बसेको बैठकले सुनसरीका १२ वटै स्थानीय कमिटीको जिम्वेवारी टुङ्गो लगाएको हो।यसमध्ये ७ स्थानीय तहमा पूर्व एमाले र ५ स्थानीयतहमा पूर्व माओवादी केन्द्रले अध्यक्षको जिम्वेवारी पाउने गरी भागबण्डा गरिएको छ। त्यस्तै ७ स्थानीयतहका सचिव पूर्व माओवादी केन्द्रका र ५ स्थानीयतहका सचिव पूर्व एमालेका रहने गरी एकता प्रकृया टुङ्गो लागेको हो। सोही अनुसार भागबण्डा गर्दै वडा कमिटी पनि विस्तार गरिने नेकपाको प्रदेश सचिवालयले जनाएको छ।
सुनसरीका दुई उपमहानगर मध्ये इटहरी र धरानमा बराबर भागबण्डा गरिएको छ। धरानमा पूर्व एमालेबाट नारायण सुवेदी अध्यक्ष भएका छन् भने सचिवमा पूर्व माकेबाट सुदर्शन श्रेष्ठको नाम अनुमोदन भएको छ।त्यस्तै इटहरी अध्यक्षमा पूर्व माकेबाट बहादुरसिं तामाङ र सचिवमा पूर्व एमालेबाट काशिनाथ दंगालको नाम अनुमोदन भएको हो।
त्यसैगरी बराहक्षेत्रमा कमल कटुवाल पूर्व माकेबाट र सचिवमा पूर्व एमालेबाट गजेन्द्र थापाको नाम अनुमोदन भएको छ। पूर्व एमालेबाट रामधुनी नपा, इनरुवा नपा, दुहबी नपा, बर्जु, हरिनगरा र कोशी गाउँपालिकामा क्रमशः राम कोइराला, तिर्थ अधिकारी, खड्ग नारायण उराँव, दिल कुमार गुरुङ, पारस शाह र ब्रम्हदेव यादवको नाम अनुमोदन भएको छ। सचिवमा भने पूर्व एमालेबाट क्रमशः उत्तम पौडेल, तोया गिरी पौदार, रहीम आलम, गजेन्द्र चौधरी, मोहन यादव र एके मण्डलको नाम अनुमोदन भएको छ। पूर्व माकेले पाएको थप ३ स्थानीय तहको अध्यक्षमा गढी, देवानगंज र भोक्राहनरसींह गाउँपालिका रहेका छन्। जसमा क्रमश खगेन्द्र चौधरी, भिमनन्दन शर्मा र हेमनारायण मण्डल रहेका छन्। उता ती गाउँपालिकाको सचिवमा पूर्व एमाले बाट क्रमश प्रभाकर माझी, मानोज कुमार मण्डल र रामकुमार मेहता रहेका छन्।
सुनसरीका स्थानीय तहको एकता प्रकृया टुङ्गो लागे संगै नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डलले नेकपाको गाडी स्टार्ट भएको र अब द्रुत गतिमा कुद्ने बताए। लामो समय देखी क्रियाशिल बन्न नसकेको स्थानीय कमीटी अब चलायमान हुने उनको भनाईछ। नेकपाले जितेका स्थानीयतहमा बिकाशको लागी सहयोग गर्ने र बाँकी स्थानीय तहमा खबरदारी गर्न कमिटी परिचालन गरिने उनी बताउँछन्। ८ महिना अघि गठन भएको सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा कमिटी विस्तार भएको अध्यक्ष मण्डलले बताए।
उनका अनुसार २ महिना पहिलेनै कार्यदलले प्रतिवेदन बुझाएकोले भर्खर मात्र प्रदेश कमिटीले नाम अनुमोदन गरेको उनको भनाइ छ।सुनसरी जिल्ला लाल किल्ला भन्ने नारा लिएर पार्टी अघि बढेको उनले बताए।नेपाल लाइभ
Views: 0