काठमाडौं, २४ असार । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनल खेलअघिको टस फाल्ने क्रममा रोचक घटना घटेको छ । नेपाल यू–१९ र हङकङ यू–१९ का कप्तान सहित म्याच रेफ्री मैदानमा पुगी टस गर्दा उक्त सिक्का नै गाडीएको छ । नेपालका कप्तान रोहित पौडेलले फालेको सिक्का हेट वा टेल आउनुपर्नेमा ठाडो भइ मैदानमा अड्केपछि पुनः टस गर्नुपरेको छ । टस अड्किंदा खेलाडी म्याच रेफ्री तथा अफिसियल सबैको हाँसो छुटेको थियो । क्रिकेटमा यस्तो घटना विरलै हुने गरेको छ ।
हल्का ओसिलो देखिएको क्वाला लुम्पुरको किनरारा ओभर मैदानमा रोहितले फालेको उक्त टस हङकङका कप्तान आदित गोरावाराले छान्ने अवसर पाएपनि गलत टस छनौट गरेपछि रोहित नै टसको विजेता बनेका थिए । उक्त मौकामा रोहितले पहिले फिल्डीङ गर्ने निर्णय गर्दै हङकङ ४३.१ ओभरमा ९५ रनमै समेटिएको छ ।
जवाफी ब्याटिङ गरेको नेपालले ५ ओभरमा बिना क्षति ४४ रन बनाइसकेको छ । हङकङ निर्धारित समय अगावै अलआउट भएकोले नेपालले ५ ओभर ब्याटिङ गरेको हो । अहिले लन्च ब्रेक भएको छ र अबको ४० मिनेटपछि नेपालले पुनः ब्याटिङ सुरु गर्नेछ। सरलपत्रिका
Views: 0