भर्खरै मात्रै एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । यतिबेला विद्याथीहरू कहाँ के पढ्ने भनेर आफू सुहाउँदो विषयबारे बुझ्न साथीहरू र अभिभावकका साथ क्याम्पस क्याम्पस धाइरहेका छन् । तर, अहिले पहिले जस्तो पढ्नका लागि धेरै ठाउँ धाउनुपर्ने अवस्था भने छैन । समयअनुसार विद्यार्थी स्वयंले आफूले के पढ्दा उचित होला भनेर सोच्न सक्ने भइसकेपछि अभिभावसमेत ‘छोराछोरीको इच्छा के छ, त्यही पढ्छन्’ भन्न थालेका छन् ।यतिबेला प्राविधिक विषयसमेत धेरै विद्याथीको रोजाइमा पर्न थालेको पाइन्छ । धेरै नम्बर आउँदा होस् वा कम नम्बर ल्याउँदा नै किन नहोस्, प्राविधिक विषय पढेर हातको सिपबाटै विद्यार्थी आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच्न थालेका छन् । छोटो तथा लामो समयका कोर्स छानेर पढ्न पाइने यस्ता विषयमा पछिल्ला केही वर्षयता विद्यार्थीले भविष्य देख्न थालेका छन् ।
यस वर्ष परीक्षामा सहभागी ४ लाख ७५ हजार विद्यार्थीमध्ये १७ हजार ५ सय ८० जनाले मात्र ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेका छन् । यी विद्यार्थीले नेपालमा पढाइ हुने जुनसुकै स्तरका विषय पनि पढ्न सक्छन् । तर, सोभन्दा तलको नम्बर प्राप्त गर्नेहरू भने सीमित विषयलाई मात्र रोजाइमा पार्न सक्छन् । त्यसकारण, पनि प्राविधिक विषय सबैको रोजाइ बन्ने गरेको हो ।
यस वर्ष ३ दशमलव २० देखि ३ दशमलव ६ जीपीए अंक प्राप्त गर्ने विद्यार्थी ५१ हजार १ सय ३७ छन भने २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए याउने ६३ हजार ७ सय ४१ जना छन् । २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २ दशमलव ४० जीपीए पाउने विद्यार्थीको संख्या सबैभन्दा धेरै ९८ हजार २ सय ७ छ ।
त्यसबाहेक ९५ हजार ३०७ जना विद्यार्थीले १ दशमलव ६० देखि २ जीपीए प्राप्त गरेको परीक्षा बोर्डको तथ्यांक छ ।
राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले राम्रो ग्रेड ल्याउने विद्याथीले आफूले भने जस्ता विषय छान्न पाउने तर कम ल्याउने विद्यार्थीले समेत अंकअनुसारको विषयलाई लिएर पढ्न सक्ने बताउँछन् । कम अंक प्राप्त गर्ने धेरै जसोको रोजाइ प्राविधिक विषय पर्ने गरेको उनको भनाइ छ ।
‘धेरै अंक ल्याउनेले विषयलाई छानेर पढ्न पाउँछन् तर कम अंक ल्याउनेले पनि आफ्नो अंकअनुसारको प्राविधिक विषयलाई रोज्ने गरेका छन् । कम अंक ल्याउने धेरैको रोजाइ प्राविधिक विषयतर्फ पर्ने गरेको छ,’ पोख्रेलले भने ।
कम अंक ल्याउने विद्याथीले सीटीईभीटीमार्फत पढाइ हुने विभिन्न विषय रोज्न पाउँछन् । सीटीईभीटीले हातमा नै सिप हुने गरी विद्याथीका लागि आत्मनिर्भर समेत बनाउँदै आएको पाइन्छ भने विदेशमा समेत गएर यस्ता विषयबाट विद्यार्थीले फाइदा लिने गरेका छन् । सीटीईभीटीका प्रवक्ता देवेशचन्द्र देवकोटा भन्छन्, ‘कम अंक भयो भनेर आत्तिने संस्कारलाई सीटीईभीटीले अन्त्य गर्ने गरेको छ ।’ उनका अनुसार विद्यार्थीको रोजाइमा प्राविधिक विषय पर्न थालेपछि धेरै अंक ल्याउनेसमेत प्राविधिक पढाइतर्फ आकर्षित हुन थालेका छन् ।
सीटीईभीटीले देशैभर रहेका आफ्ना सम्बन्धन प्राप्त शैक्षिक संस्थाबाट रोजगारीमूलक कोर्स अध्ययन र अध्यापन भइरेको छ । सीटीईभीटीले सञ्चालन गर्ने प्राविधिक एसएलसी अर्थात् टीएसएलसीका लागि विशेष कोर्सको व्यवस्था छ । यी कोर्सका लागि १५ हजार देखि ५० हजारसम्म खर्च लाग्छ । छोटो अवधिका तालिम र स्वास्थ्य, कृषि तथा इन्जिनियररिङका क्षेत्रमा फरक फरक कोर्ससमेत पढ्न पाइन्छ । हालसम्म सीटीईभीटीले ४१ वटा डिप्लोमा तहका, २५ वटा प्राविधिक एसएलसी र १ सय ८४ वटा छोटो अवधिका पाठ्यक्रम तयार गरेको छ ।
छोटो अवधिको तालिममा जुनियर स्पिनर र विभर, मेसिन अपरेटर, प्लास्टिक लुम अपरेटर जस्ता नयाँ कोर्स थपिएका छन् ।
यीबाहेक पनि एसईईमा न्यून अंक ल्याएका विद्याथीले सिभिल इन्जिनियरिङलाई समेत आफ्नो रोजाइमा पार्न सक्छन् । एसईईमा न्यून वा बढी जुनसुकै अंक ल्याउँदा पनि यो विषय पढ्न पाइन्छ । यसअन्तर्गतका सब ओभरसियर बिल्डिङ, रोड एन्ड ब्रिज, ड्रिंकिङ वाटर एन्ड इरिग्रेसनलगायतका फरक फरक कोर्सहरू छन् । यो दुई वर्षको कोर्स हो । यो कोर्स अध्ययन पूरा भएपछि सहज रुपमा रोजगारीको अवसर पाइन्छ ।राजधानी डेली
Views: 0