तेह्रथुम-परम्परागत खाद्यान्न बालीले परिवार धान्ने समस्या थियो छथर गाउँपालिका–१ आङदिमका बासिन्दालाई । वर्ष दिनमा लगाएको बाली पाक्दा परिवारलाई खान ३ महिनासम्म पनि मुस्किल नै थियो । लेकाली क्षेत्रमा रहेका यहाँका स्थानीयलाई बर्सेनि एकपेट खानकै चिन्तामा जीवन बिताउनुको कुनै विकल्प थिएन । गाउँगाउँमा सडक सञ्जाल विकास नहुँदा परिवार पाल्नैका लागि भए पनि यहाँका बासिन्दा मुग्लान पस्न बाध्य हुन्थे ।
समयको चक्रसँगै विकासले तिब्रता पाएसँगै यहाँका स्थानीय खाद्यान्न बालीको अलवा नगदेबालीको खोजीमा लाग्न थाले । लेकाली भेग भएकाले आलु उत्पादन सुरु गर्न थालेसँगै जीवनस्तरमा केही परिवर्तन आउन थालेको लाक्पा शेर्पा बताउँछन् । कोशी राजमार्गसँगै जोडिएको यो गाउँमा सडक सञ्जालको विकाससँगै यहाँका किसानले तरकारी खेतीसमेत गर्न थाले । गाउँ गाउँमा सडक सञ्जालको विकास भए पनि किसानले उत्पादन गरेको आलु बिक्री गर्न तेह्रथुम तथा धनकुटाका विभिन्न बजार पु-याउनुपर्ने बाध्यता थियो ।
खाद्यान्न बालीले सकस पर्दै आएका यहाँका स्थानीयले उत्पादन गरेको आलुसँग मकै, कोदो र धान साट्नु नौलो कुरा थिएन । तर अहिले भने त्यो कुरा सुन्दा नौलो लाग्न थालेको छ । यहाँका किसानले आलुसँगै तरकारी खेती गर्न थालेपछि आम्दानीको स्रोत बलियो बन्दै गएको छ । तीन दशक अघिसम्म परिवार धान्नै मुस्किल हुने किसानले बर्सेनि लाखौं रूपैयाँ भित्र्याउन सफल हुन थालेका छन् । उत्पादित तरकारी बिक्रीका लागि बजार चहार्नुपर्ने बाध्यता पनि हटेको छ ।
उत्पादित आलु व्यापारीले घरमै आए खरिद गर्ने गरेको पुर्वा शेर्पाले बताइन् । पछिल्लो समय किसानहरू टोलटोलमा संगठित सहकारी तथा समूहमासमेत आबद्ध हुँदै आएका छन् । गाउँगाउँमा तरकारी संकलन केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको तरबारी बिक्री गर्न सहज भएको छ । यहाँ उत्पादित तरकारी भारतको सिक्किम तथा दार्जिलिङसम्म पुग्ने गरेको छ । किसानले पछिल्लो समय मानव स्वस्थ्यलाई मध्यनजर गर्दै अर्गानिक तरकारी उत्पादनलाई जोड दिन थालेका छन । रासायनिक विषादी प्रयोगलाई न्यूनीकरण गर्दै अर्गानिक खेतीका कारण यहाँ उत्पादन भएको तरकारीले बजार पाउन समस्या नरहेको रेनुका गुरुङले बताइन् ।
एकदेखि ५० रोपनीको क्षेत्रफलमा खेती गर्दै आएका किसानले बर्सेनि करोडौं रूपैयाँ आम्दानी लिने गरेको कृषि शाखा कार्यालय छथर शुक्रबारेले जनाएको छ । यहाँका किसानले यतिबेला बेमौसमी तरकारी खेतीसमेत सुरु गरेका छन् । प्लास्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती सुरु गरेको किसानहरूले बताउने गरेका छन् । यस क्षेत्रलाई स्थानीय सरकारले तरकारी पकेट क्षेत्रको रूपमा विकास गरेको छ ।कारोबार डेली
Views: 0