काठमाडौं, असार ३१ । लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराईका विभिन्न जिल्ला प्रभावित भएका छन् । हजारौं मानिस घरबारविहीन भएका छन् ।
उनीहरुको दैनिकी गुजाराका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेपनि बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगका संक्रमण बढ्ने सम्भावनामा उत्तिकै देखिएको छ । तर, सरकारको तयारी भने कमजोर देखिएको छ ।
बाढी र डुबानबाट प्रभावित क्षेत्रहरुमा मलेरिया, डेंगीजस्ता रोगका संक्रमणको खतरा रहेको चिकित्सकहरु बताउँछन् । ती क्षेत्रहरुमा सर्पदंशको समस्या पनि निकै बढेको छ ।
बाढीका कारण महोत्तरी, सर्लाही, रौतहट र सप्तरीका विभिन्न स्वास्थ्यचौकीमासमेत असर पुगेको छ ।
स्वास्थ्य केन्द्रहरुमा भन्डारण गरेर राखिएको औषधिसमेत नस्ट भएको छ भने महोत्तरीमा औषधिको अभाव नै देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत्को स्वास्थ्य आपत्कालीन कार्यसन्चालन केन्द्रले प्रदेश नम्बर–२ का बाढी प्रभावित पथलैया, लहान र बर्दिवासमा एक चिकित्सकसहित तीनजनाको टोली पठाएको स्वास्थ्यको आपत्कालीन कार्यसन्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले बताए ।
बर्खाको समयमा आउनेसक्ने जोखिमलाई हेर्दै गत जेठमा नै सबै तयारी गरिएको भन्दै भण्डारीले डुबानका कारण धेरै स्थानमा चिकित्सकको टोली जानसक्ने अवस्थासमेत नरहेको बताए ।
आपत्कालीन समयमा स्थानीय सरकारले नै यसको व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने भन्दै उनले सफा पिउनेपानीको अभावका कारण धेरै रोगका संक्रमण देखापर्नसक्ने बताउँछन् ।
imagekhabar बाट साभार
Views: 0