गण्डकी प्रदेशको अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीको पहाडी धरातलको भीर पाखामा भीर मौरीको मह सिकार गरिन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई भीर मौरीको सिकारले आकर्षण गर्छ । पछिल्लो समय ‘हनी हन्टिङ’ अर्थात् मह सिकारले पनि पर्यटकलाई आकर्षण गर्ने राम्रो माध्यम बनेको छ । वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेंसी र शरद्मा लेकमा पुगेर भीर महको सिकार गरिन्छ । महको सिकार गर्न अर्थात् मह निकाल्न भीरको माथिल्लो भाग र तल्लोभागमा दुई समूहमा सिकारीहरू बाँडिएका हुन्छन् । नेपालमा पहिलेदेखि चलिआएका केही यस्ता लोपोन्मूख परम्परा छन्, जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छ । हिमालको काखमा रहेको लमजुङ जिल्लाको ताजे गाउँमा प्रचलित छ हाइ क्लिफ हनी हन्टिङ अर्थात् भीर मौरीको मह सिकार ।
भीर मौरी पहराको काप अर्थात् पानीले नभिज्ने र सकेसम्म हावा हुरीले पनि नसताउने भीरमा बस्ने गर्छन् । पहाडको आकासे भीर जहाँ जो कोही जाने कल्पनासम्म पनि गर्दैनन् त्यस्तो स्थानमा भीर मौरीको बासस्थान हुन्छ । मह सिकार साहसिक खेल हो भन्दा पनि हुन्छ । यसले पर्यटकलाई आकर्षण गर्दछ । चरोसमेत बस्न नसक्ने कहालीलाग्दो पहरा देख्दै आङ जिरिङ हुने भीर त्यसैमा तुर्लुङ डोरी झुन्ड्याएर लहरिनु सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा बाहिरको विषय हुन सक्छ । सत्य के हो भने मह काढ्दा थोरै मात्र गल्ती हँुदा ज्यानै जान सक्छ. ।
करिब ५ सयदेखि २५ सय मिटर उचाइका भीर पहरामा भीर मौरीले घार बनाउँछ । लमजुङका गुरुङ बस्ती भएका प्रायः ठाउँमा भीर मौरी पाइन्छ । भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दूधपोखरी, बन्सार, सिमी, ताजेलगायतका भीर पहरामा भीर माहुरी प्रशस्तै मात्रामा पाइन्छ । जाँगरिला सिकारीले बर्सेनि मह सिकार गर्छन् । यसलाई गुरुङ समुदायको पुर्खौली परम्परा पनि मानिन्छ । भीर मह विशेषगरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ । वरिपरि घनघोर जंगल गाउँछेउमै बग्ने दोर्दी खोला प्रत्येक वर्ष सिजन सुरु हुनासाथ लमजुङ जिल्लाको दुर्गम ताजे गाउँका भीर पहरामा महको सिकार सुरु हुन्छ । मह सिकारीले गर्ने मह सिकार नयाँ पुस्ता र पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्ने गरेको छ । कहालीलाग्दो भीर पहरामा हुने मह सिकार विश्वमै विरलै हुने गर्छ । मह सिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेसा पनि हो ।
परापूर्वकालदेखि जंगलको आसपासमा बस्दै आएका गुरुङ समुदायकाको आम्दानीको स्रोत बन्दै आएको मह सिकार अहिले भने पर्यटकको गन्तव्य बन्दै गएको छ । मह सिकारले गर्दा पर्यटकलाई मनोरञ्जन मिलेपनि सिकारीले भने जोखिम मोल्नुपर्ने हुन्छ । तर, पनि निडर मह सिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भीर पहरामा महको सिकार गर्दै आइरहेका छन् । भीर मौरीको मह सिकार आफंैमा साहसी कार्य हो । लमजुङमा ताजे मात्र होइन मनाङ जाने बाटोमा देखिने स्याँगे झरना नजिकै रहेको भीर, ताघ्रिङसहित घनपोखरा, भुलभुले, भुजुङ, दुधपोखरीलगायतका भीर पहराहरूमा भीर माहुरी पाइने गर्दछ । महको सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटकलाई आकर्षण गर्न आजभोलि ‘हनी हन्टिङ फेस्टिबल’ का रूपमा मह सिकार हुने गरेको छ ।
लमजुङको बाहुनडाँडको नाइचे, खुदीको सिउरुङ, घनपोखरा, भुजुङलगायतका स्थानमा हनी हन्टिङ फेस्टिबल महको सिकार गर्ने सिजनमा हुनेगर्छ ।लमजुङमा अहिले भीर महको सिकारलाई पर्यटनसँग जोड्न प्रयास सुरु भएको छ । भीरमा जोखिम मोलेर गरिने साहसिक मह सिकार पर्यटकका लागि आकर्षक बन्न थालेको छ । महको सिकार गर्दा एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्छन् । भीरमा चढेका सिकारी, भीरको टुप्पोमा बसेका सहयोगी र फेदीमा बसेका मह संकलन कर्ताबीचको सहज संवादका लागि भीरको अगाडि पर्ने डिलमा केही हेरालु बस्छन् ।
उनीहरूले ती ठाउँमा आइपर्ने समस्या र गर्नुपर्ने कामलाई ठूलो स्वरमा कुर्लिएर खबर पु¥याउने गर्दछन् । जुन दृश्यले मह सिकारको छुट्टै र फरक अनुभूति पहिलोपटक मह सिकार हेर्न पुगेका पर्यटकलाई हुन्छ । भीर मौरीको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । विशेष प्रकारको धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्ने सिकारीले विशेष ध्यान पु¥याउनुपर्छ । डोरीको भ¥याङबाट गएका मह सिकारीले महको चाकामा धुवाँ झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपर रहेका पर्यटक र अन्य स्थानीयहरू ओडारमा लुक्छन् । सिकारीले विशेष प्रकारको हतियार प्रयोग गरी निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुइ“सम्म ल्याउने गरिन्छ ।
भीरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट सिकारीहरूले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यलाई एकदमै फाइदाजनक मानिने भीर महको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएकोले आजभोलि भीर मह गाउँबाट नै खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भीर मौरीको महको माग उच्च रहेको छ । खासगरी नेपालबाट चीन र दक्षिण कोरियाका नागरिकले मह लैजाने गर्छन् । रोग प्रतिरोधात्मक र शक्तिबद्र्धक मानिने भीर मह पहिले घरायसी रूपमा मात्रै प्रयोग हुने गरेको भए पनि अहिले भने बजारको माग बढ्न थालेको छ ।
लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ मा पर्ने ताजे गाउँ अन्नपूर्ण पदमार्गमा त पर्दैन । तर, पनि हनिहन्टिङ फेस्टिबल अर्थात् भीर मारी महको सिकार गर्ने सिजनमा भने बाह्य पर्यटक पुग्छन् । ताजेगाउँमाथि कुनै मानवबस्ती छैन । पर्यटकलाई पदमार्गबाट घुमफिर गर्ने हिम ताल र हिमाल नजिक रहेका अति सुन्दर प्राकृतिक सम्पदाको भने अवलोकन गर्ने स्थल धेरै छन् । ताजेगाउँदेखि एक दिनको यात्रामा पुगिने च्याङ्गो पोखरी र न्याङमो पोखरीले पर्यटकलाई आकर्षण गर्छ । यी पोखरीको नाम गुरुङ भाषामा रहेको छ । न्याङमो पोखरीको अर्थ हुन्छ दूधपोखरी । योबाहेक अर्को पोखरी छ मेमे पोखरी । पदयात्रामा मनास्लु हिम श्रृखलाअन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
लमजुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा मेला पनि लाग्नेगर्छ । मेमे पोखरीमा मेला भर्न जाने सबै लमजुङकै गुरुङ, तामाङ हुन्छन् । मेमे पोखरीलाई उनीहरूले आफ्नो इष्ट देवता मान्छन् । सफा मनले मेमे पोखरीको यात्रा गर्दा मनले चिताएको पूरा हुने विश्वास लकजुङका गुरुङको छ । हुस्सू खुलेको दिन मेमे पोखरीको उत्तरमा हिमचुली हिमाल देख्न सकिन्छ । समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा रहेको मेमे पोखरी लमजुङ जिल्लाकै सबैभन्दा ठूलो मानिन्छ । पर्यटकले पदयात्रामा जादा खानाको व्यवस्था आफैं गर्नुपर्छ । बाक्ला कपडाको पनि जोरजाम गर्नुपर्छ । स्थानीय परिकारका रूपमा गाईको शुद्ध दुधबाट बनेका परिकार पाइन्छन् । बास बस्नका लागि आफैंले स्लिपिङ ब्याग अथवा टेन्टको व्यवस्था गर्दा राम्रो हुन्छ । बाटामा भेडीगोठ, गाईगोठ भेटिए पनि सुत्ने बस्ने ठाउँको भने अभाव हुन्छ । पदयात्रा एक हप्ताको प्याकेज बनाएर समूहमा जाँदा राम्रो हुन्छ ।
ताजेगाउँमा झण्डै २०० वर्ष अघिदेखि मानव बसोबास भएको मानिन्छ । ताजेगाउँ प्रकृतिको धनी छ । पहाड र हिमाली भूबनोटकै कारण पनि ताजेगाउँको महत्व पर्यटनको क्षेत्रमा भिन्न मानिन्छ । त्यसमाथि सुन्दर भूबनोटका कारण पर्यटक ताजेगाउँ पुग्न खोज्दछन् । ताजेगाउँ जल भण्डार पनि हो । मनास्लु हिम शृंखलाअन्तर्गतका हर्कजुङ हिमाल, बौद्ध हिमाल र मनास्लु हिमालको फेदीबाट दोर्दी खोला उद्गम भएको छ । गुरुङ र घले जातिको संस्कृति,आफ्नै भेषभुषा र भाषा ताजेगाउँको पहिचान हो । पर्यटकका लागि ताजेमा घाटु नाचले रमाइलो पनि गराउँछ । अहिले ताजेगाउँवासी पर्यटन विकासका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि जुटेका छन् । गाउँमै निर्माण हुन लागेको हाइड्रोपावरले गाउँमा उज्यालो बनाइदिएको छ । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने ताजेगाउँ अब पर्यटनको गन्तव्य बन्छ ।
एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गए पनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरूमा रकम खर्च गर्नुपर्ने हुन्छ । पर्यटकले गरेको खर्चले गाउँमा आर्थिक उन्नतिमा सहयोग पुगेको हुन्छ । ताजेगाउँमा भित्रिने पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुनपर्छ । ताजेगाउँमा अब प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात् ‘नेचर’, ‘कल्चर’, ‘एग्रिकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र संख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकै रूपमा लैजानुपर्छ ।
पर्यटन विकास हुन सक्यो भने ताजेगाउँको शिरमा रहेका हिमाल, धार्मिक, ऐतिहासिक महत्वको सम्पदा वा प्राकृतिक दृष्टिले महरूवपूर्ण स्थानको पहिचान हुनेछ । ताजेगाउँमा परम्परागत भीर महको सिकारलाई पर्यटनसँग जोड्न प्रयास सुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह सिकारले पर्यटकको आकर्षण बढेको छ । ताजेगाउँमा बस्न खानको लागि कुनै असुविधा छैन । अहिले ताजेगाउँमा व्यावसायिक होमस्टे सुरुवात गरेका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालनमा आएको छ । कुल ५५ घरधुरी रहेको ताँजेमा तीनघरमा १५ जना राख्न सक्ने व्यवस्थित संरचना भएको घरमा होमस्टे सुरुवात भएको छ । होमस्टेमा पर्यटकलाई स्थानीय अर्गानिक खानेकुराले खुवाउने गरिन्छ । ताजे गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा पर्यटकलाई स्वागत गरिन्छ । इच्छा हुनेहरूका लागि नारेपा अर्थात् कोदोको रक्सीसमेत लिन सकिन्छ ।
भीर मौरी
मौरी २० हजारभन्दा बढी प्रजाति छन् । यीमध्ये धेरै शान्त स्थानमा बस्न मन पराउँछन् । एपिस लेबोरियोसा प्रजातिको मौरी भीर मौरी हो । यो प्रजातिको मौरीले एउटै गोलाबाट ४० किलोभन्दा बढी मह उत्पादन गर्दछ । नेपालमा पाइने भीर मौरीलाई एपिस लेबोरेसिया भनिन्छ भने एपिस डोरसाटा, एपिस ङ्खलोरिया, एपिस सेरेना नेपालमा पाइने जंगली मौरीका प्रजाति हुन् । जंगली मौरी एपिस डोरसाटा र एपिस लेबोरियोसा छन् । डोरसाटा मौरीलाई खागो र कतै सिङगोस पनि भनिन्छ । एपिस ङ्खलोरिया पनि भीर मौरीमा नै पर्छ । एपिस डोरसाटा यो मौरी खुल्ला, उज्यालो ठाउँमा बस्न र गुडलगाउन मन पराउने हुनाले घारमा राख्न सकिँदैन । तराई र भित्री मधेसका प्रायः जंगलमा र कहिलेकाहीँ घरका बाहिरी टपमा पनि नाङ्ला जत्रा एउटा चाका लगाएर बस्छन् । भीर मौरीको घारबाट मह संकलन गर्नु मानिसको लागि सनातन कार्य हो । यस्तो कार्य अफ्रिका, एसिया, अस्ट्रेलिया र दक्षिण अमेरिकामा पनि गरिन्छ ।
ताजेगाउँ कसरी जाने ?
काठमाडौंदेखि दैनिक यात्रुबस ताजेका लागि छुट्छ । काठमाडौंबाट १४३ किमि र पोखराबाट ७३ किमि दूरीमा रहेको डुम्रे बजारदेखि डुम्रे–बेंसीसहर मोटर मार्गमा पर्ने उदिपुरबाट करिब २५ किमि यात्रामा ताजेगाउँ पुग्न सकिन्छ । अथवा बेंसीसहरबाट जिप वा बसमा मध्यमस्र्याङदीको बाँध अवलोकन गर्दै उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै २ घण्टामा ताजेगाउँमा पुगिन्छ । बाटोमा ताजे गाउँको शिरबाट उद्गम भएको दोर्दी खोला † जुन खोलाबाट चार ठाउँमा कुल १४५मेगावाट हाइड्रोपावरको विद्युत् गृह निर्माण हुन लागेको छ । विद्युत् गृह निर्माणस्थलसमेत अवलोकन गर्दै ताजेगाउँ पुगिन्छ ।राजधानी डेली बाट साभार
Views: 0