‘यो कस्तो न्याय हो ? जाहा मुद्दा फैसला हुन २५ वर्ष लाग्छ’

२०७६ श्रावण ४, शनिबार ०७:४२ गते २०७६ श्रावण ४, शनिबार ०७:४२ गते २०७६ श्रावण ४, शनिबार ०७:४२ गते

अदालतको फैसलाले देशको कानुनी अवस्था प्रतिबिम्बित गर्छ। त्यसैले यो एक संस्था मात्र होइन, देशको शासन व्यवस्थाको मुहार पनि हो। यसको हेर्ने नजर देशको बागडोर चलाउनेदेखि सामान्य मानिस दुवैलाई समान हुनुपर्छ। यसभित्र पस्ने सबैलाई न्यायको विश्वास हुनुपर्छ। शक्ति विकेन्द्रीकरण सिद्धान्तअनुसार व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिका एक अर्कामा शक्ति सन्तुलन कायम राख्नमा लागेका हुन्छन्। त्यो सन्तुलन यति संवेदनशील हुन्छ, एकपल्ट बिग्रिएमा देशले लामो समयसम्म क्षति बेहोर्नुपर्छ।

दुःखको कुरा नेपालले अहिले यही भोगिरहेको छ। न्यायाधीश नियुक्तिदेखि मुद्धाको बेन्च तोक्ने प्रक्रियासम्ममा व्यापक राजनैतिक तथा आर्थिक प्रभाव परेका समाचार आइरहन्छन्। स्वतन्त्र रहनुपर्ने अरू निकाय पनि राजनैतिक हस्तक्षेपले थलिएका छन्। आफ्नो प्रणालीमा चल्नुपर्ने संस्थाहरूको मनमा ठाडो हस्तक्षेपको भय रहिरहँदा संस्थागत स्थिरता केवल कागजमा सीमित भइरहेका छन्। यस्तो किन हुन्छ? यसको सुधार कसरी सम्भव छ? कि यही अवस्थामा सम्भवनै छैन? भारतमा यसको अवस्था कस्तो छ? यसै सन्दर्भसँग नजिक रहेर भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा प्रेस कान्सिल भारतका पूर्व अध्यक्ष मारकण्ड कट्जुसँग लिइएको अन्तर्वार्ता सृजना पोखरेल र सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका छन्।

यो अन्तर्वार्ता ‘इन्साइट आइआइटी बम्बे डट ओआरजी’को लागि दुई जना आइआइटीका विद्यार्थीले लिएका हुन्। आफ्नो कार्यकालमा अडान लिन सक्ने व्यक्तिको छवि बनाएका कट्जु भारतीय पत्रकारप्रति कटु आलोचकको रूपमा पनि चिनिन्छन्। यस्तै उनी मोदी सरकारपछि आएको अन्धराष्ट्रियवादका पनि आलोचक हुन्। उनले यस अन्तर्वार्तामा वर्तमान न्याय प्रणालीप्रति तीव्र असहमति जनाउँदै देशले नयाँ आन्दोलन खोजेको बताएका छन्। सन् २०१५ मा लिइएको भए पनि यो अन्तर्वार्ता नेपालको सन्दर्भमा अहिले पनि सान्दर्भिक छ।

अदालतमा फैसला गरिरहँदा कुन मार्गदर्शक सिद्धान्तलाई प्राथमिकता दिनुहुन्थ्यो?पहिलो कुरा त, हामी ‘न्याय’ भन्दा के बुझ्छौं भन्ने प्रश्न महत्त्वपूर्ण छ। मेरो विचारमा न्याय भनेको अदालतमा दिइने कुरा मात्र हैन। सबैलाई सम्मानित जीवन दिनु, उचित श्रम, शिक्षा, स्वास्थ्य र पौष्टिक आहारको व्यवस्था गरिदिनु पनि न्याय हो। अदालतले दिने न्याय त केवल औपचारिक मात्र हो ।

उदाहरणका लागि, एउटा घरमालिकले भाडामा बसेको मान्छेविरुद्ध मुद्दा हाल्यो। अदालतले उसको पक्षमा फैसला गर्ला। ऊ भाडामा हुनेलाई घरबाट निकालिदिन्छ र घर बचाउँछ। झट्ट हेर्दा एक पक्षलाई न्याय मिल्यो तर त्यसले घर नहुनेको समस्या त समाधान गर्दैन। राज्यमा घर त दुवैको लागि हुनुपर्ने हो।त्यसैले मलाई अहिलेको कुनै पनि प्रणालीले वास्तविक समस्या समाधान गरिरहेको जस्तो लाग्दैन। म त यसलाई न्याय पनि मान्दिनँ। न्याय तब हुन्छ, जब सबै नागरिकलाई सम्मानित जीवन दिन सकिन्छ। सरकार सर्वोच्च अदालतले गर्न सकिँदैन भन्ने गरेको काम गर्न उद्यत देखिन्छ। यस्तो अवस्था किन आइरहेको छ?हाम्रो न्यायपालिका आफ्नो मूल अस्तित्वमा फर्किन नसक्ने गरी पतन भइसकेको छ। यहाँ एउटा मुद्धाको फैसला हुन २५/३० वर्ष लाग्छ । यो कस्तो न्यायपालिका हो ? आफ्नो मुद्दामा फैसला सुन्न कसले २५ वर्ष पर्खन सक्छ?

अझ योसँगै, न्यायपालिकाको एउटा ठूलो हिस्सा भ्रष्ट छ । त्यसकारण जुनसुकै प्रणाली अपनाए पनि एउटा सामान्य नागरिकलाई केही फरक पर्दैन। जहाँसम्म नियुक्तिको कुरा छ, यो प्रणालीभन्दा पनि कसले जिम्मेवारी लिएको छ भन्नेमा भर पर्छ। नियुक्ति हुने व्यक्ति सक्षम र नैतिक नहुँदासम्म प्रणाली केवल खोक्रो आडम्बर हो। अहिले उच्च अदालतमा उच्चस्तरीय संरचना र सजावट बनाइएको छ। तर तिनै उत्कृष्ट भवन र पर्दाभित्र न्यायाधीशहरू घुस खाइरहेका छन्। संरचना बन्नु मात्र समाधान होइन। नियुक्तिको जिम्मेवारी लिनेहरू उत्कृष्ट नहुँदासम्म जुनसुकै प्रणालीले पनि राम्रा न्यायाधीश दिन सक्दैन।

भारतीय जनता केवल नायक बनाउन र उसैको उपासना गर्नमा केन्द्रित छन्। भाजपा कि आम आदमी पार्टी भनेर सुरु भएको बहस एकैछिनमा मोदी कि केजरिवाल भन्ने अवस्थामा पुग्छ। यो देशमा राजनैतिक छलफललाई अझ परिपक्व बनाएर वास्तविक धरातलको समस्या केन्द्रित बनाउन के हुन जरुरी छ ? मैले अघि नै भनिसकेँ कि यो देश अब क्रान्तिको बाटो खोज्दै छ। यो प्रणाली बदल्नै नसक्ने गरी कोल्टे फेरिसक्यो। तपाईं अब यसलाई सुधार्न सक्नुहुन्न। यी सबै नेताहरू दुष्ट छन् । उनीहरू मृत्युदण्डकै लायक भइसकेका छन्। उनीहरूलाई देशप्रति सच्चा प्रेम नै छैन।

अझ भनौं, उनीहरूको चासो राष्ट्रिय चासोको ठ्याक्कै उल्टो छ । उनीहरूलाई चुनाव जित्ने माहोल बनाउनुबाहेक अरू केही गर्नु छैन। चुनाव जात र धर्मको आधारमा चलिरहेको छ। जात र धर्म आफैंमा सामन्ती शक्ति हुन्। यिनलाई सत्ताको शक्तिले आकर्षित गर्नु ठूलो कुरा पनि होइन। तर राष्ट्रिय चासो भनेको सामन्ती शक्तिको विनाश हो। यो शक्तिको विनाश भए मात्र देश उकालो लाग्छ। देशमा विज्ञान र उद्योगको लहर चलोस् अनि पो राम्रो हुन्छ। तर यी सामन्तीहरूले सत्ताको बागडोर सम्हालुन्जेल देशले विकास गर्न सक्दैन। अब नयाँ क्रान्ति आवश्यक छ।

उच्च अदालका न्यायाधीशहरूको कार्यपालिकामा नियुक्ति हुने क्रम बढेको छ। पछिल्लो समय पी. सथाशिवम् केरलाको गभर्नर बन्नुभयो। यसमा के भन्न चाहनुहुन्छ? मैले पहिले भनिसकेँ, अब न्यायिक पृथकिकरणलाई बाँध्नु र नबाँध्नु दुवै निरर्थक कुरा हुन्। यहाँ प्रणाली नै पतन भइसक्यो। त्यसैले अब यस्ता नियुक्ति हुनुले केही असर गर्ला जस्तो लाग्दैन। अहिले नियुक्त हुने मान्छे सथासिवम् नभएर अरुणाचल प्रदेशको कुनै व्यक्ति हुनुहुन्छ। उहाँको नियुक्तिमा विवाद भएको सामान्य हो किनकि जुन पार्टी सत्तामा आउँछ, उसले आफ्ना मान्छेलाई गभर्नरको रूपमा नियुक्ति गर्छ।

त्यसैले अब सथाशिवम् कि को? भन्ने प्रश्न नै बेकार भइसक्यो। वास्तविक समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, कुपोषण, किसानमा बढ्दो आत्महत्या हो। यी समस्यालाई छोडेर गभर्नर को भयो वा को हुनुपर्छ भन्ने बहस नै मिथ्या हुनुपर्ने हो। त्यसले आमजनतालाई केही असर पार्दैन। बेरोजगारी पनि घटाउँदैन। यी सब कुरा अप्रासंगिक हुन् । हुनुपर्ने जे हो त्यो भइरहेको छैन। अहिले बढ्दो सङ्कटसँगै मूल्यवृद्धि हेर्नुस्, दाल प्रतिकेजी दुई सयमा बिक्री भइरहेको छ। त्यसमा कसैको ध्यान गएको देखिँदैन।हामी युवापुस्तामध्ये एउटा ठूलो हिस्सा देशको कानुनी मामिलाप्रति अनभिज्ञ छ। उनीहरूलाई के कानुनी हो र के गैरकानुनी भन्ने समेत थाहा छैन। देशमा भएका कानुनबारे एउटा सामान्य नागरिकले आफूलाई जागरूक बनाउन के के गर्न सक्छ?

सबभन्दा पहिला त कानुन पनि इन्जिनियरिङ जस्तै एक विशेष क्षेत्र हो भन्ने बुझ्नुपर्छ। कोही पनि हरेक क्षेत्रको विशेषज्ञ बन्न सम्भव छैन। कानुन पढेर, वकिल बनेर, या कानुनी सिद्धान्त बुझेर केही त जानिएला। तर विस्तृत जानकारी अझै पनि लिन सकिँदैन। हरेक नागरिकले आफ्ना हक, अधिकार, र अभिव्यक्ति स्वतन्त्रताबारे आफ्नो ज्ञानको परिधि फराकिलो बनाउन सक्छन्। कानुन बुझ्न जिज्ञासाको ढोका अलि फराकिलो बनाए पुग्छ। त्यसभन्दा अगाडि बढ्न भने कानुन व्यवसायमा संलग्न नभई हुँदैन। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) का विद्यार्थीलाई प्रायः देशको सेवा सुविधालाई भर्‍याङ बनाएर विदेश उड्ने गरेको आरोप लागिरहेको हुन्छ। तर विद्यार्थीहरू आफूलाई करारमा आबद्ध भएका होइनौं भनिरहेछन्। यसमा तपाईंलाई के भन्नु छ?

तपाईंहरू सबै विद्यार्थी स्वार्थी हुनुहुन्छ। तपाईंहरूलाई देशप्रति सच्चा प्रेम नै छैन। तपाईंहरूले ठूल्ठूला कुरा गरे पनि सत्य यही हो, सबै जना कि आरामदायी जागिर खोज्नुहुन्छ या उच्च शिक्षाको लागि अमेरिका गएर उतै स्थापित हुन चाहनुहुन्छ। तपाईंहरू प्रायःले गर्ने त्यही हो। भारतमा उच्च शिक्षा एकदमै सस्तो छ। यदि यहाँ पढ्ने कोर्स अमेरिकामा पढ्नुपर्थ्यो भने ५० गुणा बढी तिर्नुपर्थ्यो। अहिले केही पैसा तिरेर उनीहरू हाम्रो उत्कृष्ट जनशक्ति पाइरहेका छन् जसले अमेरिकाकै सेवा गर्नेछन्। तपाईंहरू भारतको सेवा गर्नु हुनेवाला छैन। तपाईंहरू अमेरिकाकै सेवा गर्नुहुन्छ। त्यसैले केही भ्रममा नबस्नुहोस् र मलाई पनि तपाईंहरूलाई लिएर कुनै किसिमको भ्रम छैन। तपाईंहरू भारतबारे सोच्नुहुन्न। मलाई तपाईंहरूबाट केही आशा पनि छैन।सेतो पाटि बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *