उदयपुरको पहाडी क्षेत्रमा पर्ने ताप्ली र रौतामाई गाउँपालिकामा बच्चा स्वस्थ राख्ने आमालाई पुरस्कार दिन थालिएको छ । यी गाउँपालिकाका विभिन्न वडामा बालबालिका कुपोषित हुन थालेपछि उनीहरूलाई पोषित र स्वस्थ बनाउन यो उपाय लगाइएको हो । बालबच्चालाई स्वस्थ राखे पुरस्कार पाइने भएपछि यतिबेला यहाँका आमाहरू बालबच्चालाई स्वस्थ्य राख्न उत्साहित देखिएका छन् ।
प्रत्येक महिनाको ५ गते वडामा रहेका गाउँघर क्लिनिकमा स्वस्थ बच्चाको प्रतिस्पर्धात्मक कार्यक्रम हुने गरेको छ । प्रतिस्पर्धामा प्रथम हुनेले १ हजार ५ सय बराबरको पुरस्कार, दोस्रो हुनेले १ हजार बराबरको पुरस्कार र तेस्रो हुनेले ५ सय रुपैयाँ बराबरको पुरस्कार पाउने गरेका छन् ।“मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजनाअन्तर्गत स्वस्थ बच्चाको बीचमा प्रतिस्पर्धा गराइन्छ,” ताप्लिगाउँपालिका–१ ओख्लेकी महिला स्वास्थ्य स्वयमसेविका मन्दिरा सेन ठकुरीले भनिन्, “बालबच्चा स्वस्थ राख्दा पुरस्कार पाइने भएपछि आमामा उत्साह देखिएको छ ।”
बालबालिकाको स्वास्थ्य प्रतिस्पर्धामा भाग लिन दुई घन्टाको बाटो हिँडेर आमाहरू गाउँघर क्लिनिकमा आउने गरेको उनले बताइन् ।प्रतिस्पर्धामा ६ महिनादेखि २ वर्षसम्मका बालबालिका र उनीहरूका आमाले भाग लिन पाउने व्यवस्था गरिएको छ । यस्तो कार्यक्रम सुरु गरिएपछि गाउँमा बच्चाको स्वास्थ्य, पोषण र सरससफाइमा ध्यान दिन थालिएको छ । “अहिले गाउँमा बालबालिकाको स्वास्थ्य र पोषणको विषयमा विशेष ध्यान दिन थालिएको छ,” प्रतिस्पर्धामा १ वर्षको छोरालाई सहभागी गराइरहेकी ओख्ले निवासी गोमा रास्कोटीले भनिन्, “बालबालिकाको उमेरअनुसारको उचाइ, तौल, पोषण र सरसफाइको अवस्था, खानपानलगायत स्वास्थ्यसँग सम्बन्धित विषयको मूल्यांकन गरेर पुरस्कार दिने गरिएको छ ।”
प्रतिस्पर्धाका लागि बालबालिकालाई लिएर गाउँघर क्लिनिकमा आउने अभिभावकलाई बच्चाको पोषण, खानपान, स्वास्थ्यलगायतको विषयमा परामर्शसमेत दिइने उनले बताइन् । वल्डभिजन इन्टरनेश्सनलको सहयोगमा मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले कार्यक्रम सञ्चालन गरेको हो । मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजनाअन्तर्गत सञ्चालित यो कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिका स्वस्थ राख्न सहयोग पु¥याएको सामाजिक सहजकर्ता अनमी रबिना चौधरी बताउँछिन् ।कारोबार डेली
Views: 0