म्याग्दी : हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्रै सडक बेनी-जोमसोम सडकखण्डमा चारदिनपछि सिधा सवारी सुचार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडकमा गत सोमबारदेखि सिधा सवारी अवरुद्ध बनेको थियो। सडकमाथिबाट खसेको पहिरोले सडकमा पूर्ण क्षति पुर्याएपछि भिरमा विष्फोटक पदार्थ प्रयोग गरि नयाँ ट्याक निर्माण गरि बिहीबार साँझदेखि सवारी सुचारु गराइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। अवरुद्ध सडक सुचारु भएपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट बेनी, पोखरा, काठमाडौंलगायत देशका विभिन्न स्थानमा छुटेका सवारी साधन आवतजावतमा सहजता भएको छ। पहिरोले १० मिटर बढी सडक पूर्ण रुपमा क्षति पुर्याएको थियो। सिधा सवारी अवरुद्ध भएसँगै यात्रुले घुमाउरो बाटो हुँदै सवारी परिवर्तन गरि सास्तिपूर्ण यात्रा गर्न बाध्य भएका थिए। ७६ किलोमिटर दूरीको कच्ची अवस्थामा रहेको बेनी-जोमसोम सडकको यात्रा बर्खासँगै जोखिम र सकसपूर्ण बन्न थालेको छ। सडक विस्तारका क्रममा धेरै ठाउँमा पहाड खनिएकाले पहिरो खस्ने र हिलो जम्ने समस्या बढेको छ। सडकको म्याग्दीको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडकखण्ड पहिरोसँगै कालिगण्डकी नदीको कटानको कारण जोखिमपूर्ण छ। यो सडक खण्डमा नियमित जसो सवारी अवरुद्ध हुँदै आएको छ।
thahakhabar बाट साभार
Views: 0