दमक : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा भ्युटावर बन्ने भएपछि त्यस आसपासको जमिन खरिद बिक्रीमा रोक लगाइएको छ। यहाँ अधिक चासोको रूपमा रहेको भ्युटावर निर्माणको प्रक्रिया अघि बढेको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो। दमक–३ मा निर्माण हुने भनिएको भ्युटावर निर्माणको ठेक्का लागेसँगै दमक नगरपालिकाले पनि चासो देखाएको छ।
नगरपालिकाले भ्युटावर निर्माण हुने जग्गाको आसपासमा घडेरी प्लटिङ् तथा बिक्रिमा कडाई गरेको छ। भ्युटावर निर्माण हुने जग्गाको बाहिरी क्षेत्रबाट ५ सय मिटर भित्रको जग्गामा प्लटिङ तथा किनबेचका लागि पूवर्स्वीकृति अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ। साउन ६ गतेको कार्यपालिकाको बैठकले भ्युटावर निर्माण हुने जमिनको वरिपरिको जग्गा खरिद बिक्री एवं प्लटिङ पूर्वस्वीकृति अनिवार्य गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञरान निरौलाले जानकारी दिएका छन्।
यसअघि सहरी विकास मन्त्रालयले दमक नगरपालिका–३ मा अत्याधुनिक कम्प्लेक्ससहितको भ्युटावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको थियो। दमक भ्युटावरको योजना बहुवर्षीय योजनामा परेसँगै भ्यूटावर साकार पार्न अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरि सकेको जनाइएको छ। भ्यूटावर निर्माणको ठेकेदार चिनियाँ र नेपाली कम्पनी संयुक्त रुपमा छनोट भएका छन्। जेसिडिआइइसी–आशिष–ओमसाई जेभीले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ (करबाहेक)मा ठेक्का पाएको समाचार श्रोतले जनाएको छ।
प्रधानमन्त्रीलेनै चासो लिएको र राष्ट्रिय बहससमेत सिर्जना गरेको विकास योजना निर्माण अघि बढेको भन्दै स्थानीय उत्साही बनेका छन्। भ्युटावरको ओलीले नै पहिलो पटक प्रधानमन्त्री भएका बेला शिलन्यास गरेका थिए। तत्कालीन वडा नं. ६ मा शहरी विकास मन्त्रालयमार्फत भएको शिलन्यास कार्यक्रममा सरकारले कूल एक अर्ब रुपैयाँको लागतमा भ्यूटावर निर्माण हुने बताइएको थियो। पार्कसहितको सो टावर निर्माणका लागि स्थानीयबासीले कूल ५ विगाहा जग्गा निःशुल्क प्रदान गरेका छन्। थाहा खबर
Views: 0