सल्यान : एक वर्षको अवधिमा सल्यानबाट साढे तीन करोड रुपैयाँको खोटो निर्यात भएको छ। जिल्लामा रहेका विभिन्न सामुदायिक वनमा आर्थिक वर्ष २०७५/७६ मा संकलन गरिएको खोटो तीन करोड ६० लाख रुपैयाँमा बिक्री गरिएको हो। सल्यानमा रहेका चार सयभन्दा बढी सामुदायिक, राष्ट्रिय र कवुलियती वनमा विभिन्न कम्पनीले खोटो निकाल्दै आइरहेका छन्।
गत आर्थिक वर्ष एक लाख ५० हजारभन्दा बढी खोटोको टिन निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। प्रतिटिन २०४ रुपैयाँका दरले बिक्री भएको डिभिजन वन कार्यालय सल्यानमा प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए। पहिलेको तुलनामा खोटोको माग क्रमशः घट्दै जान थालेको कार्कीले बताए। बजारमा खोटोको माग घट्दै जाँदा खोटो संकलन गर्ने कम्पनीहरु पनि विस्थापित हुन थालेको उनको भनाइ छ। खोटोलाई कागज चिल्लो पार्न, रङ, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग गर्न, श्रृंगारका सामग्री, रबर आदिमा प्रयोग गरिन्छ। थाहा खबर
Views: 0