जनकपुरधाम– तराई मधेशको ग्रामिण क्षेत्रमा खाना पकाउन अहिले पनि परम्परागत चुलोको प्रयोग हुँदै आएको छ।खास गरेर ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारहरु अहिले पनि परम्परागत चुलोको प्रयोग गर्दै आएका छन्। उनीहरुले चुलोमा प्रयोग गर्न गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आएका छन्।तराई–मधेशमा वन जंगलबाट मासिँदै जाँदा दाउरा पाउन कठिनाई भएपछि गाई भैँसीको गोबरबाट बनेको गुइँठालाई खाना बनाउन दैनिक रुपमा प्रयोग गर्दै आएका छन् ।
खाना पकाउने (एलपी) ग्याँस महँगो भएकोले आफूहरु ग्यासँको साटो गाई बस्तुको गोबरबाट बनेको गुइँठाको प्रयोग गरेर खाना पकाउने गरिरहेको धनौजी गाउँपालिकाका वडा नं. ४ की सितादेवी बताउँछिन्।उनले आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउनसमेत टाढा जानुपर्ने भएकोले आफूहरुले गाईबस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गरिरहेको बताईन्।गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई–मधेशका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रामा गरिन्छ।गोबरमा भुस, पराल, मकैको ठठेरो लगायतका वस्तुहरु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिन्छ। पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ।
सुख्खायाममा गुइँठा बनाएर राख्ने र वर्षायाममा त्यसको प्रयोग गर्नेहरुको संख्या बढेको छ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ रामपुरका जोगी पजियारकले घरमा गाई भैँसी पालेकोले यसको गोबरको प्रयोग पहिले खेतमा गरेतापनि अहिले गुइँठा बनाएर खाना पकाउन दाउराको रुपमा प्रयोग गर्न थालिएको बताए।उनले भने, ‘पहिले खेतमा गोबरको प्रयोग गर्थ्याैँ । तर अहिले रासायनिक मल प्रयोग गर्न थालिएपछि गोबरलाई दाउरोको रुपमा प्रयोग गर्न थालेका छौँ।’
गाईवस्तुको गोबरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गरी खेती किसानी गर्दै आएका किसानहरु समेत दाउराको अभावमा गुइँठाको प्रयोग गर्न थालेको धनौजी गाउँपालिका भररीयाकी स्थानीय महिला जिवछी देवी यादव बताउँछिन्।‘पहिले–पहिले गोबर खेतमा मिलाउँदा राम्रो मलको रुपमा काम गर्थ्याे तर अब विस्तारै वनजंगल मासिँदै गयो। दाउरा पाउन पनि अभाव भयो’, यादवले भनिन्, ‘खाना पकाउने दाउराको किन्न गाह्रो हुन्छ। एलपी ग्याँसमा खाना पकाउने क्षमता गाउंँघरमा झनै हुँदैन। त्यसैले सजिलै उपलब्ध हुने भएको हुँदा गोबरलाई खेतमा हाल्नुभन्दा गुइँठाको प्रयोगमा जोड दिएका छौँ।’
खेतहरुमा अहिले कम्पोष्ट मलको साटो बढी जसो रासायनीक मल तथा उत्पादन बढाउन विषादीको प्रयोग बढेकाेले गोबर खाना पकाउनकै लागि उपयोग गर्ने गरिएको सोही गाउँका अर्का किसान रामप्रताप साहले बताए। उनले भने, ‘पहिला पर्याप्त दाउरा हुँदा गुइँठाको खासै उपयोग थिएन। त्यतिबेला भएको गोबर खेतमै हालिन्थ्यो तर, अहिले वनजंगल मासिएका छन्। दाउराको अभाव भएको छ। यस्तो अवस्थामा गुइँठा मात्र ग्रामिण भेगका बासिन्दाका विकल्प बनेको छ।’
दाउराको रुपमा गोबरको अत्याधिक प्रयोग हुन थालेपनि कृषि उत्पादनमा ह्रास हुँदै गएको जिल्ला कृषि विज्ञ शंकरप्रसाद साहले जानकारी दिए। रसायनिक मलले तत्काल उब्जनी बढ्ने भएपनि माटोको उर्बरा शक्ति ह्रास हुँदै गएको साहको भनाई छ।साहले खेतबारीमा एक वर्ष हालेको गोबरले तीन वर्षसम्म मलको रुपमा काम गरिराख्ने हुनाले खेतीका लागि गोबर उपयुक्त भएपनि किसानले गोबर किनेर हाल्न महँगो हुने भएका कारण गोबरको साटो रासायनिक मलको प्रयोगमा जोड दिने गरेको बताए।देश संचार
Views: 0