काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सिपाहीका लागि हाल कायम रहेको २० बर्षे पेन्सनको अवधि पुनरावलोकन गरि १६ बर्षमा झार्नुपर्ने आशयको पत्र रक्षामन्त्रालयलाई पठाएपछि सुरक्षाकर्मी खुशी भएका छन् । सबै सुरक्षा निकायका निम्न दर्जाका कर्मचारीले सेनापतिको कदम स्वागतयोग्य रहेको भन्दै १६ बर्षमै स्वेच्छिक अवकासका लागि बाटो खुला हुनुपर्ने माग गरेका छन् । प्रधानसेनापतिले पठाएको पत्रमा ‘नेपाल सरकारलाई आर्थिक भार सन्तुलन हुने गरी सेनाका पदीय तथा अन्य दर्जाहरुको निवृतिभरण अवधि फ्लोअर्स र सिपाहीलाई १६ वर्ष, बिल्लादार, जमदार, सुबेदार र अधिकृतलाई क्रमशः १७, १८, १९ र २० वर्षसम्म अवधि पुगेपछि निवृतिभरण पाउन उपयुक्त हुने व्यवस्था लागू गर्न आवश्यक रहेको’ उल्लेख छ । यहि साउन ५ गते रक्षा सचिवलाई सम्बोधन गर्दै प्रधानसेनापतिले पठाएको उक्त पत्रका माग सम्बोधनका लागि मन्त्रालय कति तयार होला ? त्यो हेर्न बाँकी छ ।
सिपाहीले पेन्सन पाउने अवधी पुनरावलोकन हुनुपर्ने आशयको पत्र प्रधानसेनापतिले रक्षामन्त्रालयलाई पठाएको बारे ई.हुलाकी डटकम मार्फत प्रकाशित समाचारमा हजारौं प्रतिक्रिया प्राप्त भएका छन् ।तल्लो तहमा काम गर्ने सिपाहीको दुःख, पीडा र उनीहरूको चाहनालाई सम्बोधन गर्ने प्रयाश गरेको भन्दै सामाजिक सञ्जालमा सेनापति थापाको प्रसंसा भैरहेको छ । प्रधानसेनापति थापाले सिपाहीहरुको मनोबल बढाउन एकदमै सराहनीय काम गरेको भन्दै नेपाल प्रहरीका प्रमुखले पनि सेनापतिको जस्तै पत्र मन्त्रालयमा पठाउनुपर्नेमा पाठकहरुको जोड छ । सुरक्षाकर्मीका सामाजिक सञ्जालमा अभिव्यक्त केहि प्रतिनिधीमुलक प्रतिक्रिया यस्ता छन् ।
Views: 0