नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीबासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’माथि को सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन्।
उनले भने, ‘काठमाडौंजस्तो ठाउमा हामीले खानेपानी दिन सकेका छैनौँ। मन्त्रीज्यू यहाँ हुनुहुन्छ। म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्ण प्रसाद भट्टराईका २०औँ वर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुनसकेको छैन। मुखमा आएको गाँस सचिव र तपाईका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुनसकेको छैन, मन्त्रीज्यू यसमा तपाई क्लियर गर्नुहोला। राजधानीबासी काकाकुल छन्।’
एक गाग्री पानीका लागि अहिले पनि कीर्तिपुरनगरबासीहरु बिहानैदेखि छटपटाएर हिड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए। नेपाल खबर
Views: 0