काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर भारतको स्वतन्त्रता दिवसको ठिक अघिल्लो दिन भोलि बुधबार भारत पाकिस्तान सीमाक्षेत्र जाने भएका छन् । भारतले कश्मिरको विशेषाधिकार खारेज गरेलगत्तै इमरानको कश्मिर यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । इमरानले पाकिस्तान अधिकृत कश्मिरको राजधानी मुजफ्फराबादमा त्यहाँको विधानसभालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।
पाकिस्तानको स्वतन्त्रता दिवस भारतको स्वतन्त्रता दिवसको ठिक अघिल्लो दिन पर्छ । यस क्रममा पाकिस्तानले कश्मिरी पृथकतावादीहरुको समर्थनमा पीओकेमा र्यालीसमेत आयोजना गरेको छ । पाकिस्तान सरकारले १५ अगष्ट अर्थात भारतको स्वतन्त्रता दिवसको दिनलाई कालो दिवस मनाउने निर्णय गरेको छ । यस दिन पाकिस्तान अधिकृत कश्मिरमा भारत विरोधी र्याली आयोजना गरिएका छन् । पाकिस्तान आफ्नो नियन्त्रणमा रहेको कश्मिरलाई स्वतन्त्र जम्मु कश्मिर भन्छ । एक सरकारी बयानमा भनिएअनुसार प्रधानमन्त्री इमरानसँगै केही मन्त्रीहरु पनि स्वतन्त्र जम्मु कश्मिरको राजधानी मुजफ्फराबाद जानेछन् ।
Views: 0