जोगबुडा अस्पतालमा कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण !

२०७६ भाद्र ९, सोमबार १५:३८ गते २०७६ भाद्र ९, सोमबार १५:३८ गते २०७६ भाद्र ९, सोमबार १५:३८ गते

पर्शुरामधाम- डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ।

अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन्। दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन्।

मानवको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई नबुझी अस्पतालले कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण गर्नु गैरजिम्मेवारी भएको स्थानीय रामदत्त जोशीले बताए। नेपाल सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने भए पनि यहाँको अस्पतालमा भने सेवाग्राहीले निःशुल्क पाउने औषधिसमेत नपाएको गुनासो गरेका छन्।

औषधि निःशुल्क पाइने आशले सेवाग्राही आउने गरेका र अस्पतालमा पुगेपछि निःशुल्क औषधि नपाएर अन्य फार्मेसीबाट किन्नुपर्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेको जोशीले बताए। अस्पतालले निःशुल्क औषधि दिनुपर्नेमा अहिलेसम्म उपलब्ध नगराएको र अस्पतालकै फार्मेसीबाट किनेको औषधिको बिलसमेत नदिने गरेको सेवाग्राही बताउँछन्। अस्पतालको फार्मेसीबाट औषधि किन्ने कसैलाई पनि बिल नदिइने र फार्मेसीमा राखिएको रजिस्टरमा टिप्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

अस्पतालले आकस्मिक सेवाका लागि पचास रुपैयाँको टिकट दिने गरेको भए पनि फार्मेसीले भने औषधि किनेको बिल नदिएको अर्का सेवाग्राही मोहन भाट बताउछन्। यसरी दैनिकरूपमा औषधिको बिल नदिई बिक्री गर्नुले फार्मेसीको आर्थिक अपारदर्शिता झल्किएकोसमेत सेवाग्राहीको आरोप छ। जोगबुडा अस्पतालमा पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन्।

नेपाल सरकारले जोगबुडा अस्पताललाई १५ श्ययाको अनुमति दिएको भए पनि यसैअनुरुप सेवासुविधा प्रदान गर्न नसकेको आम सर्वसाधारणको गुनासो छ। अस्पतालमा कर्मचारी अभावसँगै आवश्यक उपकरणसमेत नहुँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ। जोगबुडा अस्पतालका मेडिकल अधिकृत डा. करुणा बज्राचार्यले फार्मेसीमा कार्यरत कर्मचारी बिदामा गएकाले कर्मचारी अभावका कारण कार्यालय सहयोगीलाई नै सहयोग गर्न भनेको बताउछन्।

समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी सुधारका लागि प्रयास भइरहेको अस्पतालका मेडिकल अधिकृत डा. बज्राचार्यले बताए।रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *