प्रहरीले एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको छ।प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।‘आइतबार नै सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएका छौं,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘अन्य स्थापित हुनसक्ने कसूर हेरेर मुद्दा बढाउँछौं।’दुई वा दुईभन्दा बढी व्यक्ति संलग्न भएकाले यसमा संगठित अपराध पनि आकर्षित हुने परिसरले जनाएको छ।यस्तै, इन्टरनेट सर्भर ह्याक गरी पैसा लुटेकाले साइबर अपराध पनि आकर्षित हुने परिसरले जानकारी दियो।‘साइबर अपराधबारे छानबिन तथा अनुसन्धान भइरहेको छ,’ एसएसपी उत्तमराज सुवेदीले भने, ‘संगठित अपराध ऐनमा पनि हामी मुद्दा चलाउने तयारी गरिरहेका छौं।’ह्याक गर्न प्रयोग गरिएका एक दर्जन उपकरण परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।उपकरणको रिपोर्ट प्राप्त भएपछि साइबर अपराध मुद्दाको अनुसन्धानमा परिपक्व प्रमाण भेटिने भएकाले प्रहरीले ल्याबको रिपोर्ट कुरिरहेको छ।बैंकिङ कसूरमा चारदेखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ।संगठित अपराध भने अन्य मुद्दासँगसँगै जोडेर लैजाने मुद्दा भएकाले यसमा अन्य स्थापित भएको मुद्दाको डेढ गुणा बढी सजाय हुने व्यवस्था छ।
साइबर अपराधमा पाँच वर्षसम्म सजाय र जरिवाना हुने व्यवस्था छ।शनिबार चीनबाट नेपाल आएका चिनियाँ नागरिकहरूले विभिन्न बैंकको एटिएम ह्याक गरी एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ लुटेका थिए। लुट्ने चिनियाँ नागरिकहरू ८ जनामध्ये पाँच जना शनिबारै पक्राउ परेका थिए भने चिनियाँ मुलका फ्रेन्च नागरिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको थियो। यीमध्ये दुई जना अझै फरार छन्।ह्याकिङ गरेर फरार तीन जना चिनियाँको पैसा साट्नेहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको छ।यी व्यक्तिहरू एटिएमबाट पैसा लुट्ने योजना बनाएरै काठमाडौं आएको खुलेको परिसर प्रमुख सुवेदीले बताए।बैंकहरू कसको कति लुटिएको हो विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।यो नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको प्रहरीको बुझाइ छ।
शनिबार दिउँसो ह्याकरहरूले रकम लुट्ने योजनासाथ प्रयोग गरेका कार्डहरू एटिएम मेसिनमा छिराएपछि अस्वभाविक कारोबार भएको देखिएको थियो।‘सामान्यतया एटिएममा एउटा कारोबार गर्न ५० सेकेन्डजति समय लाग्छ। त्यस्ता कार्ड प्रयोग गरिएका एटिएमबाट ह्वार्ह्वार्ती पैसा निस्केको देखिन्छ,’ एसएसपी सुवेदीले भने। यो समूह गिरोह पक्राउ परेपछि तत्कालका लागि ठूलो रकम चोरी हुने समस्या टरे पनि बैंक ग्राहकका संवेदनशील विवरण चोरी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले यसबारे राष्ट्र बैंक तथा बैकर्स एसोसिएसनका विज्ञहरूसँग परामर्श गरिरहेको जनाएको छ।कम्बोडिया-ओहोरदोहोर:पक्राउ परेका सात जना चिनियाँ र एक जना फ्रेन्च नागरिक नेपाल आउनुअघि पटक-पटक कम्बोडिया गएको अनुसन्धानमा देखिएको छ।नेपाल आउनुअघि उनीहरू लामो समय कम्बोडिमा रहेको एसएसपी सुवेदीले बताए।‘कम्बोडियामा एटिएम बुथ ह्याक गरेर पैसा लुटिएको खबर सुनिएकै हो। यो समूहको आवतजावत त्यता देखिन्छ,’ सुवेदीले भने, ‘उनीहरूले त्यहाँ पनि नेपालको जस्तो घटना गराएको हुन सक्छ।’तर, यो अनुसन्धानकै विषय रहेकाले अहिले किटान गरेर भन्न नसकिने सुवेदीले बताए।सेतोपाटी
Views: 0