बाख्राले खुलायो विद्यालय जाने ढोका

२०७६ भाद्र २६, बिहीबार १२:४४ गते २०७६ भाद्र २६, बिहीबार १२:४४ गते २०७६ भाद्र २६, बिहीबार १२:४४ गते

सिन्धुपाल्चोक-आमा र बाबु दुवैले छाडेर हिँडेपछि विद्यालय जानबाट वञ्चित हुने अवस्थामा पुगेकी लिसंखुपाखर गाउँपालिका–६ पेट्कुकी स्वस्थानी भण्डारी (१५) अहिले विद्यालय नियमित हुन्छिन् । आम्दानीको स्रोत नहुँदा विद्यालय सामग्री खरिद गर्न समस्या भएपछि अध्ययनलाई बिट मार्न लागेकी उनले बाख्रापालन सुरु गरेपछि विद्यालय जाने ढोका खुलेको हो । विद्यालय समयभन्दा बाहिर वर्ष दिन अघिदेखि पाल्न सुरु गरेको बाख्राको स्याहारमै उनी व्यस्त हुन्छिन् । कक्षा नौमा अध्ययनरत स्वस्थानीमात्र हैन उनकी दिदीको पनि दैनिकी उस्तै हो । गतवर्षबाट सुरु गरेको बाख्रापालनबाट अहिले आम्दानी हुन थालेपछि विद्यालय छाड्नुपर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।

स्वस्थानीका बाबुले अर्की श्रीमती लिएर हिँडेपछि चार वर्षकै उमेरमा आमाले पनि उनीहरूलाई छाडेकी थिइन् । बाबुआमा हिँडेपछि वृद्ध हजुरबा र हजुरआमाको संरक्षणमा हुर्किरहेका उनीहरू आम्दानीको स्रोत नभएकै कारण विद्यालय छाड्ने मनस्थितिमा पुगेका थिए । “पढाइ खर्च जुटाउन हम्मे थियो, अरु साथी सरह हुन नसकेपछि लाज भयो, अनि विद्यालय जान छाडिसकेका थियौं,” उनी भन्छिन्, “बाबु आमा दुवै आफ्नो साथमा नभएपछि कापी कलम किन्ने पैसाले समेत पिरोल्दो रहेछ ।” स्वस्थानीले बाख्रा पाल्न सुरु गरेपछि अहिले पढाइ खर्च जुटाउन सजिलो भएकाले पढाइ छाड्नु नपरेकोमा खुसी व्यक्त गरिन् ।
न्यून आयस्रोत भएका भण्डारी दिदीबहिनी आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुने अवस्थामा पुगेपछि सामाजिक संस्था ग्रामीण महिला सिर्जनशील परिवारले सहयोग गरेको हो । सिर्जनशीलको सुन्दर भविष्यका लागि सुन्दर बालापन कार्यक्रमअन्तर्गत २० हजार रुपैयाँ जीविकोपार्जन सहयोग गरेपछि उनीहरूले बाख्रा पालन सुरु गरेका हुन् ।

भण्डारी दिदीबहिनीलाई आमाको ठेगानाबारे पत्तो छैन । “आमा कता हो थाहा नै छैन, बाबा भए पनि घरमै आउनु हुन्न काम गर्नै नसक्ने हजुरबा हजुरआमाले कसरी खर्च धान्न सक्नु,” स्वस्थानीले भनिन्, “अहिले खसीबोका बेचेर आएको पैसाले खर्च पु¥याउने गरेका छौं ।” पेट्कुकै ६८ वर्षीया मिठुमाया गुरुङको पीडा पनि स्वस्थानीको भन्दा कम छैन । उनका नौ र सात कक्षामा पढ्ने नातिनीहरूलाई पनि पढाउन नसक्ने अवस्थामा पुगेपछि सिर्जनशीलको जीविकोपार्जन सहयोग नै वरदान भएको छ । आमाले छाडेको र बाबुले अर्की श्रीमती ल्याएर काठमाडांै बस्न थालेपछि नातिनीहरूको भविष्य अन्धकार देखेकी मिठुमायालाई बाख्रापालन सुरु गरेपछि राहत भएको छ । प्यारालाइसिस भएर हलचल गर्न नसक्ने श्रीमान्को औषधी र दुई सन्तानको पढाइ खर्च जुटाउन हम्मे परेको बताउने सिर्जना गुरुङ पनि सिर्जनशीलको सहयोगले आफूलाई राहत पुगेको बताउन थालेकी छन् ।

२० हजार सहयोग लिएर बाख्रापालन सुरु गरेकी सिर्जनाले दुई बोका बेचेर १९ हजार आम्दानी गरिसकेकी छन् । स्वस्थानी, मिठुमाया र सिर्जनाजस्तै लिसंखुपाखरको दुई वडामा सिर्जनशीलले सुनौलो भविष्यका लागि सुनौलो बालापन कार्यक्रमअन्तर्गत १४ जना जोखिममा परेर विद्यालय छाड्ने अवस्थामा पुगेका बालबालिकालाई जीविकोपार्जन सहयोग गरेको कार्यक्रम संयोजक एकलव्य राईले जानकारी दिए । कार्यक्रमअन्तर्गत विद्यालय छाडेकालाई विद्यालय फर्काउने, कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने र जोखिममा परेका बालबालिकाका अभिभावकलाई जीविकोपार्जनमा सहयोग गरिएको सिर्जनशीलकी कार्यकारी निर्देशक नानीमाया थापाले बताइन् ।कारोबार डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *