मंसिर १८, २०७६ पोखरा : १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ। तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक/एक स्वर्ण नेपाललाई दिलाएका थिए।
त्यसैगरि, दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदकदिलाएका छन्। साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारूको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो। त्यस्तै, पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा वसन्त थारूले नेपाललाई कास्य पदक दिलाएका थिए। योसँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ। नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ। त्यसैगरि, श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ। कुल ५ स्वर्णसहित १५ पदकका लागि सागअन्तर्गतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो। ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन्।
व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्। त्यसैगरि, गण्डकी प्रदेश सांसद दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन्। उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। पदक वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गरेका थिए। १३औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ। खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन्। यसअघिको १२औं सागको ट्रायथलनमा १ रजत र १ कास्य मात्र हात पारेको थियो।थाहखबर
Views: 0