काठमाडौं । नेपालका राजनीतिककर्मी, पत्रकार लगायत समाजका विभिन्न प्रभावशाली व्यक्तिहरुलाई उपहार दिएर प्रभावित गर्न खोजेको आरोप लागिरहदा चिनियाँ राजदूत नवनियुक्त एक मन्त्रीलाई रक्सी उपहार लिएर गएको तस्विर सार्वजनीक भएको छ ।गोकर्ण बिष्टलाई हटाइएपछि मन्त्री बनाइएका श्रम मन्त्री रामेश्वर राय यादवलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी रक्सी लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएको तस्विर सार्वजनीक भएको हो ।
मंगलबार मन्त्री यादवलाई भेट्न गएकी राजदूत होउ यान्छी सेतो दुईवटा झोलामा प्याकिङ गरिएको रक्सी दिन लागिरहेको तस्विरमा देखिन्छ । मन्त्री यादव भने ढाकाको खादा राजदूतसहित चिनियाँ टोलीलाई लगाउन लागि परेको देखिन्छ । मन्त्रीका सहयोगी हातमा पट्याएर राखिएका केहि खादाहरु बोकेर उभिरहेका देखिन्छन् । खादाको संख्यालाई हेर्ने हो भने राजदूतसहित अन्य चिनियाँ कर्मचारीहरु समेत मन्त्रालय गएको अनुमान गर्न सकिन्छ ।
तस्विरमा भने मन्त्री र राजदूतसहित पाँच जना मात्र देखिन्छन् । जसमध्ये एक चिनियाँ कर्मचारी रहेको भेटमा सहभागी एक प्रत्यक्षदर्शीले बताए । मन्त्रीकै कार्यकक्षमा राजदूतले मन्त्रीलाई उपहारको रुपमा रक्सी दिदै गर्दा कतिपयले जिब्रो निकालेका थिए ।पछिल्लो केहि बर्ष यता चिनियाँ कुटनितिज्ञ नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई रक्सी लगायतका उपहारहरु पुर्याउने गर्दै आएको सार्वजनीक टिप्पणी हुदै आएको छ । नेपालको राजनीतिमा विस्तारै ‘माइक्रो म्यानेजमेन्ट’ मा समेत ओर्लिएको चीनको यो ‘गिफ्ट डिप्लोमेसी’ को आलोचना पनि हुदै आएको छ ।
दशैको समयमा चिनियाँ राजदूतावासले कतिपय प्रभावशालीको घरमै पुर्याएको र कतिपयलाई फोन गरेर उपहार लिन आउन समेत भन्ने गरेको पाइएको छ । रक्सी उपहार लिन बोलाइएका ‘द हिमालयन टाइम्स’ का सम्पादक प्रकाश रिमालले त्यसरी बोलाइएकोमा आपत्ति जनाउदै सामाजिक सञ्जाल ट्वीटरमै राजदूतको ध्यानाकर्षण गराएका थिए ।पछिल्लो यो प्रकरणले राजदूतावासको ‘गिफ्ट डिप्लोमेसी’ लाई फेरी उजागर गरिदिएको छ ।
Views: 0