काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरे। प्रचण्ड र देउवाको भेटले नेकपाभित्र तरंग पैदा भएको छ। नेकपाको कार्यकारी अधिकार पाएलगत्तै सक्रिय भएका प्रचण्डले देउवालाई भेटेपछि मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। देउवा प्रचण्डको भेटको विषयलाई लिएर नेपाली राजनीतिमा फेरि नयाँ मोड लिन सक्नेसमेत आँकलन सुरु भएको छ।
कार्यकारी अधिकार पाएपछि पहिलोपटक अध्यक्षता गरेर सचिवालय बैठक चलाएका प्रचण्डले पछिल्लो समयमा राजनीतिक भेटघाटलाई प्राथमिकता दिएका छन्। नेकपाभित्र स्थायी कमिटीको बैठक पार्टी संगठनात्मक एकीकरणको बाँकी कामको विषयमा छलफल र निर्णय, पार्टीको कार्ययोजना तय गर्ने तर्खरमा छ। पार्टी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलका सभापति देउवालाई भेट गरेपछि भित्रभित्रै विभिन्न खालको खिचडी पकाउन थालेको उनी निकट स्रोतको दाबी छ। प्रचण्डले देउवासँग भेटेपछि नेकपाभित्रैका नेताहरूले समेत फरकफरक धारणा दिँदै आएका छन्। पार्टीभित्र जानकारी छैन तर, पार्टी अध्यक्ष प्रचण्डले देउवासँग गरेको भेटका विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको नेकपाको पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
‘प्रचण्ड र ओलीको भेटको विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन’ उनले थाहाखबरसँगको कुराकानीमा भने, ‘सभामुखको विषयमा पार्टीभित्र अहिलेसम्म छलफल भएको छैन, ओली प्रचण्डबीच भएको भए त्यसविषयमा मलाई थाहा नै छैन।’ यस्तै, प्रचण्ड र देउवाबीच भएको भेटघाटको विषयमा आगामी बस्ने सचिवालयको बैठकमा जानकारी हुनसक्ने नेकपा नेत्री पम्फा भुसालले जानकारी दिइन्। ‘औपचारिक रुपमा भेटको विषयमा जानकारी भएको छैन। तर, बाहिरबाट सुनेको हो। त्यस विषयमा आगामी सचिवालयको बैठकमा छलफल हुनसक्छ’ उनले भनिन्। पार्टीभित्र आगामी सचिवालयको बैठकबाट मात्रै सभामुखको विषयमा प्रवेश पाउनसक्ने उनको भनाइ छ। ‘सभामुखको विषयमा अहिलेसम्म पार्टीभित्र कुनै छलफल भएको छैन। त्यसको विषयमा बैठकबाट टुंगो लाग्नसक्छ’ उनले भनिन्। नेकपाभित्र सभामुखको ‘सकस’ बलात्कार प्रयासको आरोपमा सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा परेपछि यतिबेला नेकपाभित्र रस्साकस्सी छ। विशेषत: यतिबेला नेकपाभित्र सभामुख कसलाई बनाउने भन्नेमै अन्योलता भइरहेको छ। कांग्रेसले सभामुख पद आफ्नो भएको दाबी गर्दै आएको बेलामा प्रचण्डले देउवालाई भेट्नुले थप शंका भइरहेको नेकपाकै नेताहरू प्रतिक्रिया दिन थालेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुने व्यवस्था छ।
त्यसैले पार्टी एकतापछि कांग्रेसले सभामुख आफ्नो भएको दाबी गर्न थालेको हो। यद्यपि, नेकपाले सभामुख पद गुमाउन आफैँले राख्न खोजेको छ। त्यसका लागि नेकपाबाट उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर अर्का व्यक्तिलाई सभामुख बनाउने गृहकार्य गरिरहेको छ। तर, उपसभामुखबाट तुम्बाहाङफेले राजीनामा दिन चाहेकी छैनन्। उनले आफैँ सभामुखको लागि योग्य रहेको दाबी गर्दै आएकी छिन्। केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दासमेत उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराएर कुनै मन्त्रालयको जिम्मेवारी दिने बताइएको थियो। उनले आफ्नै अडान कायम राखेपछि ओलीको त्यो प्रयास असफल भएको ओलीनिकट एक नेताको भनाइ छ। तर, मन्त्रिमण्डल विस्तारकै दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए। ओली प्रचण्डले सभामुखको विषयमा राष्ट्रपतिसँग पनि छलफल गरेका थिए। उनीहरूबीच भएको भेटलगत्तै राष्ट्रपति भण्डारीले उपसभामुख तुम्बाहाङफेलाइ तत्कालै बोलाएर उपसभामुखबाट राजीनामा नदिन आग्रह गरेको समेत उनीनिटक स्रोतको ठम्याइ छ। के पाक्दै छ खिचडी?
उपसभामुखलाई लिएर नेकपाभित्र भित्रभित्रै फरक खालको भनाइ नेताहरूले राख्दै आएका छन्। ओली प्रचण्डले तुम्बाहाङफेलाई उपसभामुखबाट कुनै मन्त्रालयको जिम्मेवारी सुम्पिएर पूर्वसभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ल्याउने सहमतिनजिक पुगेको स्रोतको दाबी छ। नेकपाले हिउँदे अधिवेशनलाई केन्द्रित गरेर नयाँ सभामुख ल्याउने तयारीमा जुटेको छ। तत्कालीन सभामुख पूर्व-माओवादीको भएकाले अब बन्ने नयाँ सांसदको विषयमा उसैले दाबी गरिरहेको छ। तर, नेम्वाङ अनुभवी भएकाले पनि उनैलाई बनाउनुपर्ने पक्षमा नेकपाका एक पक्षीय नेताहरूको भनाइ छ । उनी पूर्व-एमालेका हुन्। यता, सभामुख पदका लागि पूर्व-माओवादीबाट देव गुरुङ, ओनसरी घर्ती मगर, पम्फा भुसाल र अग्नि सापकोटाले सभामुख पदमा दाबी गरिरहेका छन्। नेकपामा सभामुखका लागि धेरै आकांक्षी हुँदा जिम्मेवारी तोक्नमा समस्या परेको छ। आन्तरिक गृहकार्य नहुँदा सभामुख चयन गर्नका लागि संसद् बैठकसमेत बोलाउन सकेको छैन। सभामुख पद रिक्त हुँदा संसदमा विभिन्न विधेयक प्रमाणित हुन सकेका छैनन्। थाहा खबर
Views: 0