काठमाडौं– एसिएसन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन (आमो)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाकै दूरदर्शी र राष्ट्र निर्माताको रुपमा सम्मान गरेको छ। म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आमोका अध्यक्ष राजिम कउलले सम्मान हस्तान्तरण गरेका हुन्। गत वर्ष मलेशियाका प्रधानमन्त्री मोहम्मद महाथिरलाई सम्मान गरेको संगठनले यो वर्ष प्रधानमन्त्री ओलीलाई सम्मान गरेको हो।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा अभूतपूर्व योगदान दिएको आमोका अध्यक्ष कौलले बताए। ‘प्रधानमन्त्रीमा नेपालको आर्थिक र सामाजिक विकासका अतिरिक्त महिला सशक्तिकरणका लागि अठोट रहेको हामीले पायौँ,’ कौलले भने, ‘लामो समय संघर्षबाट आएका उनको नेतृत्वमा नेपाल आर्थिक र सामाजिकरुपमा सम्पन्न राष्ट्र बन्छ भन्ने हाम्रो विश्वास छ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि पर्याप्त अवसर रहेको उल्लेख गरे। उनले सरकारले नीतिगत र प्रक्रियागत सुधार गरी सहज लगानीको वातावरण तयार गरेको पनि बताए। ओलीले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको पनि बताए।
आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य बिरला व्यवस्थापन कर्पोरेशन समूहका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डि शिवकुमारलाई प्रदान गरेको छ। श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ। यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यवसायिक नेतृत्वको सम्मान दिइएको छ। कार्यक्रममा म्यानका अध्यक्ष सुशील भट्टले मुलुकको विकासमा व्यवस्थापकहरुको योगदान र भूमिका महत्वपूर्ण रहने बताए। उनले कुलश नेतृत्वले नै संस्था र राष्ट्रलाई समुन्नत बाटोमा अघि बढाउन उल्लेख गरे। एजेन्सी।
Views: 0