माघ २७, सिन्धुली । फरार रहेका भनिएका ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी बम्जन तीन वर्षका लागि महाध्यानमा रहेको जानकारी गराएको हो ।अदालतको आदेश अनुसार यही माघ २४ गते प्रहरीको टोली बम्जनलाई पक्रन सिन्धुलीस्थित उनको आश्रममा पुग्दा उनी नभेटिएपछि रित्तो हात फर्किएको थियो ।
बम्जनमाथि १८ वर्षीय आनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । सोही अनुसार प्रहरी त्यहाँ पुगेको थियो, तर प्रहरीले बम्जनलाई आश्रमा भेट्टाउन सकेन र रित्तो हात फक्र्रिएको थियो । तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाएको छ । संघले आज पत्रकार सम्मेलन गरि ‘तपस्वी’ बम्जन फरार रहेको भन्नु, शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मार्नु दुःखद भएको बताएको छ । संघले प्रहरीले धार्मिक स्थलमा ज्यादती गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ ।
बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए ।आफ्ना गुरु बम्जन काहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र आफ्नो कर्तव्यभन्दा माथि जान नमिल्ने बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्गका नामले चिनिने ज्ञानबहादुर बम्जनले बताए । आफूहरुको नजरमा बम्जन सधैँ सत्य रहेको र उनकै शिक्षा, निर्देशन एवं वचन कल्याणकारी रहेको बताउँदै कहिल्यै असत्य बाटोमा लाग्न नसक्ने बम्जनका मुख्य सहयोगी तोप्चेनले बताए । पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरूसहित प्रहरीमा उजुरीहरू परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको छ । बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा सिन्धुपाल्चोक, लमजुङ र सर्लाहीमा समेत आश्रम बनाएका छन् ।
Views: 0