पाल्पाली ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने-मुख्यमन्त्री

२०७६ माघ २९, बुधबार १६:०७ गते २०७६ माघ २९, बुधबार १६:०७ गते २०७६ माघ २९, बुधबार १६:०७ गते

पाल्पा : प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले पाल्पाली ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताएका छन्। पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग भएको उनले बताए। प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उनले भने ‘नेपाललाई पहिचान दिएको पाल्पाली ढाका पछिल्लो समयमा ओझेलमा पर्नु दुःखद हो।’

यो परियोजनाले पाल्पाली ढाकालाई पुनर्जन्म दिनेमा आफू आशावादी रहेको मुख्यमन्त्री पोखरेलले बताए। कार्यक्रमभर पाल्पाली ढाकाबारे केन्द्रित रहेर मन्त्यब्य राखेका उनले आफू मुख्यमन्त्रीको सपथ लिने बेलामा पाल्पाली ढाका टोपी बुटवल बजारमा खोज्दा नपाएको सुनाए। पश्चिमी भेगमा पूर्वेली टोपीले स्थान पाउने तर आफ्नो इतिहास बोकेको पाल्पाली ढाकाको टोपी ओझेलमा परेकोप्रति उनले चिन्ता व्यक्त गरे। पाल्पाली ढाकाको प्रवद्र्धनका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए। ‘अनलाइन मार्केटबाट पाल्पाली ढाकाको व्यापार व्यावसायमा प्रर्वद्धन गर्न प्रदेश सरकारले पहल थालेको थियो’ मुख्यमन्त्री पोखरेलले थपे ‘ पुनः जनशक्ति विकास र प्रवद्र्धन गर्नुपर्ने आवश्यकताको महसुस गरेर सीप परियोजनामार्फत तीन वर्षे कार्यक्रम सञ्चालन गर्न थालिएको हो।’

यो परियोजनामार्फत अब श्रमिक नभई उद्यमी बन्न यहाँका युवालाई उनले सुझाव दिए। घरघरमा ढाका उत्पादन गर्न आग्रह समेत गरे। गुणस्तरीय र समयको माग अनुसार पाल्पाली ढाकाको ब्राण्ड दिन सके बजारको समस्या नहुने उनको भनाइ थियो। नेपालमा मात्र नभई विदेशी मुलुकमा समेत यो ढाकाबाट निर्मित सामग्रीको खपत हुने उनले बताए। ‘लाखौंको संख्यामा विदेशी भूमिमा नेपाली दाजुभाइ छन्’ उनले भने ‘एनआरएनजस्ता संस्थामार्फत पाल्पाली ढाकाका ब्राण्ड विदेशमा निर्यात गर्न सकिन्छ।’ यसरी निर्यात गर्न सके मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने उनको दावी थियो। प्रदेश सरकारले यहाँको ढाकालाई प्रवर्द्धन गर्नको लागि आवश्यक सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए। यहाँको ढाकालाई प्रचार प्रसार र प्रवद्र्धनको लागि वर्षमा एकपटक विशेष मेला महोत्सव गर्न उनले सुझाए। कम्तिमा पाँच वर्षका बच्चालाई एक ठाउँ भेला गराइ ढाकाको कपडा लगाइ दिएर कार्यक्रम गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने हो भने प्रचारप्रसारमा ठूलो सहयोग मिल्ने उनको ठम्याइ छ। साथै पाल्पाली युवा युवतीको विवाहमा पाल्पाली ढाकाको कपडाबाट बनाइएको ब्राण्ड लगाउन सुझाव दिए।

‘परम्परागत सीमित ढाँचाले मात्र हुँदैन्’ उनले भने ‘समयको माग अनुसार ढाकाको ब्राण्ड उत्पादन गर्न सक्नुपर्छ। सबैको मन तान्ने खालका डिजाइनमा ढाकाबाट निर्मित विभिन्न प्रकार कपडा बजारमा ल्याउनुपर्छ।’ गुणस्तरीय पाल्पाली ढाकाबाट बनेका विभिन्न प्रकारका ब्राण्ड बजारमा लैजान सके पाल्पाको मात्र नभई सिंगो मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने उनले विश्वास गरे। ढाका पाल्पालीको पहिचान भएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए। एकातिर ढाकाको उत्पादन घट्दै जानु र अर्कोतिर ढाकाको माग बढ्दै गइरहेको उनले बताए। विदेशी ढाकाको आयात बढ्नुले यहाँको ढाकामा असर गरेको उनले बताए। पाल्पाली ढाकाको गुणस्तरीय ब्राण्ड दिनेगरी व्यापार व्यावसाय प्रवद्र्धन गर्न तानसेन नगरपालिकाले थालेको अभियानमा सहयोग गरेको प्रदेश सरकार र दातृ संस्थालाई प्रमुख शाहीले धन्यवाद दिए। यो सम्झौतामार्फत विभिन्न ९ वटा संस्थाबाट सहभागी युवालाई ढाकासम्बन्धि सीप र उद्यमी बनाउने गरी सहजीकरण गरिने सीप परियोजनाका प्रमुख बल्जित बोहोराले बताए। उनका अनुसार तीन वर्षे परियोजनाअन्तर्गत १५ सय युवालाई स्वरोजगार बनाउने लक्ष्य छ।

कार्यक्रममा ढाका बुन्ने, स्वरोजगार बुनाई गर्नेहरु, प्राविधिक डिजाइन र सिलाईकर्ता गरी १५ जना सहभागी हुने छन्। करिब ५ करोडको लगानीमा यो परियोजना सञ्चालन हुने छ। परियोजना सम्झौतामा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमायाँ महर्जन र सीप परियोजनाका प्रमुख बल्जित बोहोराले बुधबार हस्ताक्षर गरेका छन्। तालिमपश्चात उद्यमी बन्न चाहनेहरुलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले लगानी गर्ने गरी सम्झौता भएको संस्थाका कार्यकारी प्रमुख श्रीराम पोखरेलले बताए। उद्यमीले माग गरे अनुसार संस्थाले प्रक्रिया पूरा गरेर सस्तो व्याजदरमा ऋण लगानी गर्ने उनले बताए। यसअघि मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका र यसबाट बनेको विभिन्न ढाँचाहरुको अवलोकन गरेका थिए। उनले ढाकाबाट बनेका ब्याग, जुत्ता, सारी, तन्ना, पछ्यौरा, टोपी लगायतको अवलोकन गरेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *