टीकापुर २७ चैत – कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा म्याद सकिएको बिस्कुट खुवाइएको खुलेको छ। क्वारेन्टाइनमा राखिएका नागरिकलाई खाजाको रुपमा दिइने बिस्कुटको म्याद सकिएको पाइएको हो। नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका ५२ व्यक्तिलाई यस्तो बिस्कुट खुवाएको हो। ती व्यक्तिलाई सुनसरीको दुहबीमा रहेको एशियन बिस्कुटले सन् २०१९ जुलाई ९ तारिखमा उत्पादन गरेको फिडकिड ग्लुकोज बिस्कुट खुवाइएको थियो। सो बिस्कुटको उपभोग्य मिति सन् २०२० मार्च ९ तारिखसम्म मात्रै छ। क्वारेन्टाइनको व्यवस्थापन १ का वडाध्यक्ष जनक बमले गर्दै आएका छन्। १२ सदस्यीय व्यवस्थापन समिति बनाएर कर्मचारीलाई समेत जिम्मेवारी तोकेको छ।
वडा सचिव विष्णुकान्त प्याकुरेलले सो बिस्कुट लम्कीस्थित पाण्डे किराना पसलबाट खरिद गरिएको बताए। उनले खाजाको लागि खरिद गरिएको एउटा पेटी बिस्कुट मात्रै त्यस्तो भेटिएको जिकिर गरे। ‘खाजाको लागि ल्याइएको एउटा पेटी म्याद सकिएको भेटिएको हो’, उनले भने, ‘वितरण गर्नुभन्दा पहिल्यै थाहा पाएर हामीले फिर्ता गर्यौं।’ व्यवस्थापन समितिका संयोजकसमेत रहेका वडाध्यक्ष बमले बजार बन्द भएका कारण हतारमा खरिद गर्नुपर्दा समस्या भएको बताए। लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले क्वारेन्टाइनमा म्याद गुज्रिएको बिस्कुट पुगेको स्वीकार गरे। उनले वितरण गर्नु पहिले नै म्याद सकिएको थाहा पाएपछि बिस्कुट फिर्ता गरेको बताए। ‘म्याद सकिएको बिस्कुटबारे मैले पनि हेरेँ’, उनले भने, ‘मैले तत्काल नै फिर्ता पठाएँ।’ उनले स्थानीय व्यापारीलाई समेत त्यस्ता सामग्री किनबेचमा रोक लगाउन निर्देशन दिएको बताए। नगरपालिकाले प्रतापपुर, तिलकपुर, चिसापानी, लोहारपुर लगायत विभिन्न ७ स्थानमा क्वारेन्टाइन निर्माण गरी १७१ जनालाई राखिएको छ।
Views: 0