सुख दुःखमा भिजेका समाजसेवी शिव अधिकारी

२०७७ बैशाख ६, शनिबार २१:४४ गते २०७७ बैशाख ६, शनिबार २१:४४ गते २०७७ बैशाख ६, शनिबार २१:४४ गते

समिर नेपाल/कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण चार सातादेखि सिंगो देश लकडाउनमा छ । व्यापार-व्यवसाय ठप्प छ । महिनौँसम्म आर्जन बन्द हुँदा ज्यालामजदुरी गर्नेहरूको गुजारा मुस्किल हुँदै गएको छ । सरकारले ल्याएका राहत र सुरक्षाका कार्यक्रम वास्तविक लक्षित वर्गसम्म पुग्न नसकेका गुनासा यत्रतत्र सुनिँदै छन् । गाउँ-गाउँका जनतामाझ सरकारले कोरोनाबाट जोगिनका लागि न पर्याप्त सचेतनाका कार्यक्रम पुर्याउन सकेको छ, न त सुरक्षा सामग्री नै । बजारमा समेत महिनौँदेखि मास्कलगायत स्वास्थ्य सामग्रीको अभाव छ ।
यस्तोमा नुवाकोटको तारकेश्वर गाउँपालिकामा भने निजी प्रयासमै घरघरमा मास्क पुर्याउने अभियान चलिरहेको छ । अभियान चलाइरहेका छन्- गन्तव्य नेपाल ग्रुपका अध्यक्ष, समाजसेवी पत्रकार शिव अधिकारी ‘अविरल’ले । तारकेश्वरभित्र एक दशकदेखि समाजसेवामा होमिएका अधिकारीले चलाएको कोरोना प्रतिरोधी अभियानअन्तर्गत तारकेश्वरका ६ वटै वडामा गरी १४ हजार ७०० थान मास्क घरघरै वितरण भइसकेको छ । र, यो क्रम अझै जारी रहने उनी स्वयम् बताउँछन् । ‘तारकेश्वरवासीलाई कोरोना महामारीसँग जुध्न सघाउने यो हाम्रो सानो पहल मात्र हो,’ हामीसँग टेलिफोन संवाद गर्दै समाजसेवी अधिकारी भन्छन्, ‘यसलाई सकारात्मक रुपमा लिएर सावधानीका साथ सुरक्षाका उपायहरु अपनाउन सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई आग्रह गर्छु ।’अधिकारीको संयोजनमा गाउँ-गाउँमा स्वयंसेवकहरु खटिएका छन् । उनीहरु घरघर पुगेर गाउँवासीलाई कोरोनासँग बच्न सावधानीका उपायहरु सिकाउँदै मास्क, स्यानिटाइजर बाँडिरहेका छन् । अधिकारीको कोरोना प्रतिरोधी अभियानमा थुप्रै व्यक्ति तथा संस्थाले साथ दिएका छन् । जनताले पनि यो अभियानको खुलेरै स्वागत गरेका छन् । अभियानका क्रममा उनले केही अवरोधको पनि सामना गर्नुपरेको छ । कतिपयले अभियान नै बिथोल्ने ‘असफल’ प्रयास गरेको तीतो अनुभव समेत उनीसँग छ । समाजसेवी अधिकारी त्यसबाट आफू कत्ति पनि विचलित नभएको बताउँछन् । ‘केहीले आफ्नो स्वार्थ हेरेर असहयोग गरे, कसैलाई उल्टै जोखिम बढ्ने हो कि भन्ने शंका पनि भयो होला,’ अधिकारी भन्छन्, ‘तर, हामीले निकै सावधानी अपनाएका छौँ । हाम्रा स्वयंसेवकले सामाजिक दुरीको ख्याल गरेका छन् । साबुनपानी र स्यानिटाइजरको प्रयोग गरी आफूलाई नियमित डिसइन्फेक्ट गरिरहेका छन् । गाउँका आमाबुबा, दिदीबहिनी र दाजुभाइलाई पनि त्यस्तै गर्न सिकाइरहेका छन् । मास्क वितरणसँगै त्यसको प्रयोग गर्न पनि सिकाइरहेका छन् ।’ सकेसम्म गाउँपालिकाभित्रका प्रत्येक परिवारमा मास्क पुर्याउने उनको योजना छ । त्यसैअनुरुप, प्रत्येक दुई-तीन दिनको अन्तरालमा दुई-तीन हजार थान मास्क तारकेश्वर पठाइरहेका छन् । ‘हामीले सबै गाउँटोलमा मास्क पुगे नपुगेको अध्ययन गरिरहेका छौँ । कतै पुगेको छैन भने सम्पर्क गर्नुस् भनेर सार्वजनिक अपिल पनि गरेका छौँ । वितरणका क्रममा कुनै कमिकमजोरी भएका छन् भने पनि हामी रिपोर्ट गर्न भनेका छौँ,’ आफ्नो कामको प्रभावकारिताप्रति सजग रहेको बताउँदै अधिकारी भन्छन् ।
उसो त अधिकारीले लकडाउनअघि नै जिल्लाभर कोरोना प्रतिरोधी अभियान सुरु गरेका थिए । लकडाउनअघि सरकारले स्कुल, कलेजलगायत अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै काठमाडौंमा दैनिक आर्जनमा गुजारा गरिरहेकाहरु गाउँ फर्किन हतारिएका थिए । समस्या थियो सवारीको । सार्वजनिक सवारीमा सिट पाउने अवस्था थिएन । कोच्चिएर यात्रा गर्दाको सास्ती त छँदै छ, यात्राकै क्रममा संक्रमणको जोखिम हुने अर्को त्रास थपिएको थियो । यस्तोमा समाजसेवी अधिकारीले जिल्ला फर्किन चाहनेजति सबैलाई बसको व्यवस्था गरिदिए । ग्रेटफुल ट्राभल एन्ड टुर्ससँगको समन्वयमा उनले दुई दिनमा दर्जनभन्दा बढी बस काठमाडौंबाट त्रिशूली पठाए । बसमा खुकुलोसँग यात्रा गर्ने वातावरणसँगै यात्रु सुरक्षाका लागि सबैलाई मास्कको व्यवस्था गरे । तेस्रो दिन सरकारले अन्तरजिल्ला आवतजावत बन्द गर्ने निर्णय गर्यो । त्यसपछि भने बस सेवा रोकियो । यसैबीच, अधिकारीसामु जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिकामा सुरक्षा सामग्री नपुग्दा स्वास्थ्यकर्मीहरु त्रासमा रहेको गुनासो आयो । गाउँपालिकाभरि सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ति उनले १० थान पिपिई तथा एप्रोन सेट पठाए । विपद्का वेला तारकेश्वरलगायत सिंगो नुवाकोटको सेवामा खटिएका अधिकारी नुवाकोटवासीका सबैखाले सुख दुःखमा जोडिन चाहन्छन् । आफ्नो अभियानमा साथ दिने व्यक्ति तथा संस्थाप्रति कृतज्ञ हुँदै उनी भन्छन्, ‘मानवसेवाको अभियानमा मसँग जोडिएर साथ, सहयोग दिनुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति विशेष आभार प्रकट गर्दछु ।’भूकम्पका वेला पनि आफूलाई गाउँकै सेवामा समर्पित गरेका अधिकारी अप्ठ्यारोमा गरिने सहयोगलाई मानवीय धर्म ठान्छन् । सेवा र सहयोग आउँदा दिनमा पनि जारी राख्ने उनको प्रण छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *