काठमाडौं – संसारका हरेक शक्तिशाली शासकहरुको सास रोकिएको बेला एसियाकै तेस्रो ठूलो कम्युनिस्ट नेता एवं नेपाली संसदिय व्यवस्थाकै शक्तिसाली दुईतिहाई मतप्राप्त सरकारको निर्देशन अवज्ञा गरेकोमा हामीलाई माफ गरिदिनुहोल। नयनका बलेसीबाट अनवरत वर्षिरहने मुसलधारे वर्षाबाट मनका उजाड र उराठफाँटहरुमा मनग्गे सिँचाई गर्दै, अभावको भकारीमा क्रन्दनको दानो भर्दै यो खाल्डोमा जीवनरुपी नाउ खियाउँदै आए पनि रोग, भोक र शोकको त्रिकोणिय आक्रमण एकैसाथ भएपछि ईतिहासका सम्पूर्ण प्रवाह रोकेर ,सम्पूर्ण घरका झ्यालढोका बन्द गरेर सिङ्गो देश महारोगको सन्त्रासमा डुबेको पल अवज्ञाको सहनाई फुकेर , एउटा काँधमा केही थान झिटीगुन्टा अनि अर्को काँधमा केही थान सपना र मनमा केही झिना आशा बोकेर सयौँ माइलको यात्रमा निस्किएकोमा माफ गरिदिनुहोला ।
सरकार ! वर्षौदेखि मुठ्ठी बाटारेर भन्दै आयौँ संसारका मजदुरहरु एक होऔँ तर अफशोच काठमान्डौँ र बाहिरका मजदुरहरु समेत एक रहेनछन । गोजीमा नागरिकता हुनु मात्रै नागरिक हुनु रहेछ । गोजीमा भएको नागरिकताले मजदुरलाइ मतदातासम्म त बनाउँदो रहेछ तर गोजीमा भएको नागरिकता गोजीमा भएको एटिएम कार्डजस्तो भने होइन रहेछ । देशको जुनसुकै शाखाबाट पनि सेवा लिन मिल्ने । गोजीमा भएको नागरिकता त्यही देशको केन्द्रीय राजधानीमा समेत चल्दोरहेनछ तसर्थ सरकारी सुविधा जनताको लागि होइन रहेछ , यो त केवल मतदाताको लागि रहेछ । त्यसैले आक्रोसको आगोमा भोक पकाएर, अभावको आँशुमा पीडा मिसाएर पिउदै अनवरत गरिरहेछौँ एउटा नयाँ युगको यात्रा । सरकार यदि हजुरसँग कान छ भने यी पैतालाका पद्चापहरुको सङ्गीत सुन्नुहोस, यदि नाक छ भने यी पसीनाहरुको सुगन्ध सुङ्नु होस अनि यदि आँखा भने हेर्नुहोस यी तस्बिरहरु जुन मानवसभ्यताकै कारुणिक र दुखदायी छन । सरकार! यी लामबद्द पैदलयात्रीहरु केवल्ऽ पैदलयात्री मात्र होइनन । तिम्रा व्यवस्थाका शवयात्रीहरु हुन । लोकतन्त्रमा लोक हटाएर बाँकी रहेको तन्त्रमा मनपरी थपिएपछि सत्ताको सिंहासनमा बसेर शक्तिको उन्मादमा मत्ता हात्ती झैँ भएका शासकहरुलाई स्मरण रहोस सहिदको रगतले रातो भएको तिम्रा पार्टीका लालझण्डाका रङहरु यी मजदुरका पसिनाले पखालियर फिक्का पनि हुन सक्छ ।
सरकार ! मिडीयाहरु आदररार्थी नभएको चिन्ता एकातिर रहिरहँदा अर्कोतिर फेरि भोक प्यासै राजमार्ग काटिरहेका पैदलयात्रीलाई किन प्रहरी र सिडियोले चाहिँ देख्दैनन तर पत्रकारले मात्र देख्छन भन्ने अर्को चिन्ता थपिएको छ । सिँगै रोम जलिरहँदा निरोले बाँसुरी बजाइहे झैँ होलीवाइनको नशामा लठ्ठिएर ओम्नीको काखमा चीर निन्द्रामा डुब्नुभएको हजुरको निन्द्रा बिथोलिएको भए कृपया माफ गरिदिनुहोला ! लेखक श्यामहरी चौलागाईं नेपाल विद्यार्थी संघका नेता हुन् ।
-बिचार-
Views: 0