एजेन्सी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको चामल गुणस्तरहीन भएको ठहर गर्दै व्यवसायी पटवारी बाँनियालाई पुपर्क्षका लागि जेल चलान भएका छन्। राजेश राइस मिल पोखरापालीका सञ्चालक बनियाँलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले न्यून गुणस्तर र सरकाको मापदण्डअनुसार नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।दोषी प्रमाणित भए बानियाँलाई ५ वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना हुन सक्नेछ। फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को २ ख मा थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने भन्ने कानुनी व्यवस्थाअनुसार जिल्ला अदालतका न्यायाधीशको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बानियाँ सोमबार नै कारागार चलान भएका हुन्। बयानका क्रममा उनले नगरपालिकाका कर्मचारीहरुले हेरेरै सम्झौताअनुसार चामल उपलब्ध गराएको बताएका थिए।
राहतस्वरुप विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई वितरण गरिएको चामल कुहिएको पाएपछि स्थानीयले नगरपालिकाको गेटमै चामल फालेर विरोध जनाएका थिए। राहतमा कुहिएको चामल बिक्री गरेको भन्दै नगरपालिकाले चर्को आलोचना भोग्नु परेको थियो। चैत २८ गते वितरण गरिएको चामल कुहिएको पाइएपछि त्यसको भोलिपल्ट रामग्राम नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र गुणस्तर तथा नापतौल कार्यालय बुटवलले नमुना ल्याएर परीक्षण थालेको थियो। उक्त परीक्षणमा गुणस्तरहीन र तौलसमेत कम भएको पाइएपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।जिल्ला न्यायाधीश ध्रुवकुमार शाहको इजलासले व्यवसायी बानियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत परासीका वैतनिक वकिल सरस्वती शर्माले बताइन्। उनले चामल सप्लायर्स गर्नेविरुद्ध मात्रै मुद्दा दायर भएको र अन्तिम फैसला हुन बाँकी रहेको बताइन्।
वितरण गरिएको चामल गुणस्तरहीन भएको पाइएपछि मुद्दा दायर गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले चामल खानै नहुने र मापदण्ड भन्दा न्यून भएको पाइएपछि खाद्य ऐन २०२३ अनुसार कारबाही अघि बढाइएको बताए। उनका अनुसार चामल बिक्री गर्ने सप्लायर्सविरुद्ध अदालत र जिल्ला प्रशासनमा समेत उजुरी परेको छ। न्यून गुणस्तर खाद्यवस्तु बिक्री गरेको अभियोगमा मुद्दा दायर भएको हो भने जिल्ला प्रशासनमा अनुज्ञापत्र नलिएको भन्दै कारबाही गर्न मुद्दा दिइएको प्रमुख दाहालले बताए। राहतमा बाँडिएको चामलको तौलसमेत कम भएको पाइएको छ। गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले गरेको अनुसन्धानमा ३ सय ७० ग्रामसम्म तौल कमी भएको पाइएको छ।नगरपालिकाले चामल बिक्री गर्ने व्यापारीका टाउकोमा मात्रै दोष थोपरेर उम्केको व्यवसायीको भनाइ छ। नगरपालिकाले वितरण गरेको चामल गुणस्तरको नभएको भन्दै नगरपालिकाको वडा नम्बर ११ मा वितरण भएको राहत स्थानीयले चैत २८ गते नगरपालिकाको गेटमै फालिदिएका थिए भने ६ नम्बर वडामा अध्यक्षको घरमा लगेर फर्काइदिएका थिए। वडा नम्बर ३ बाट पनि वितरण भएको राहत फिर्ता भएको थियो।
Views: 0