बिबिसी। नेपालमा कोरोनाभाइरसको उपचारपछि चिकित्सकहरूका अनुसार निको भइसकेका एक युवकलाई एक हप्ताभित्रै फेरि अस्पताल भर्ना गर्नुपर्ने भएपछि भाइरस दोहोरिने सम्भावनालाई लिएर प्रश्नहरू उठ्न थालेका छन्।रौतहटका १९ वर्षीय युवकको स्वास्थ्यमा ‘समस्या’ देखिएपछि शनिवार राति वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।”उनलाई फेरि पनि कोरोनाभाइरस सङ्क्रमण नै भएको हो भनेर अहिले भन्न सक्ने अवस्था छैन, रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ,”उपाध्यायले थपे।
काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चौथो पीसीआर रिपोर्ट निगेटिभ भएको पठाएपछि अस्पतालले उनलाई वैशाख १४ गते डिस्चार्ज गरेको थियो।अस्पतालका अनुसार आइशोलेनशमा १२ दिनसम्म राखिएका युवकलाई केही दिन घरमै क्वारन्टीनमा बस्नेगरी घर पठाइएको थियो। वैशाख २ गते उनलाई पहिलो पटक अस्पताल भर्ना गरिएको थियो।यसै सन्दर्भमा बीबीसी नेपालीका गनी अन्सारीले दुईजना विज्ञसँग सङ्क्रमण भएर उपचारपछि निको भइसकेका व्यक्तिमा कोरोनाभाइरस दोहोरिने सम्भावनाबारे कुराकानी गरेका छन्।प्रस्तुत छ उनीहरूसँग गरिएको कुराकानीको सम्पादित अंशः
डा. अनुप सुवेदी, सङ्क्रामक रोग विशेषज्ञ :“रौतहटका युवकलाई निको भयो भन्ने कसरी निर्क्योल गरियो र अस्पताल बसिरहँदा उनमा रोगको जटिलता देखाउने सूचकाङ्क कस्ता देखिए लयागतका कुरा नबुझी मैले टिप्पणी गर्न मिलेन।उनलाई साँच्चै निको भएको थियो वा थिएन? त्यही रोगको निरन्तरता हो कि अर्को समस्या भएको हो?चीन र दक्षिण कोरियाबाट डेढ-दुई सय जनाको त्यस्तो रिपोर्ट आएका छन्।नेगेटिभ देखिएका व्यक्तिहरूमा एक-दुई हप्तापछि पोजिटिभ देखिएको कुरा त्यसमा छ। त्यसकारण कोरोनाभाइरसबारे धेरै दुविधा देखिएको हो।भाइरसले हाम्रो शरीरमा आक्रमण गरिसकेपछि शरीरले रोगप्रतिरोधी क्षमता बनाउन नसकेको हो कि भन्ने शङ्का गर्ने हिसाबले यसबारे चर्चा भएको हो।
तर यो एकदमै सानो समूह हो। अर्को कुरा पोजेटिभ आउनुपर्ने व्यक्तिमा कुनै तरिकाले निगेटिभ आएको सम्भावना पनि हुन सक्छ।अनि पीसीआर आफैँमा रोगको सूचक होइन। उदाहरणका लागि क्षयरोग निको भइसकेका मानिसमा छ महिनापछि पनि खकार परीक्षण गर्दा कहिलेकाहीँ पीसीआर पोजिटिभ आउँछ।मरिसकेका भाइरसका टुक्रा पछिसम्म शरीरमा रहिरहन सक्छन्। त्यसो हुनाले पीसीआर देखिँदैमा भाइरस फर्किन्छ भनिहाल्न मिल्दैन।पछि पीसीआर पोजिटिभ देखिएका व्यक्तिहरूमा सङ्क्रमणका लक्षण चाहिँ देखिएका छैनन्।एउटा कुरा के छ भने यो भाइरसप्रति रोगप्रतिरोधी क्षमता कत्तिको बलियो हुन्छ, कत्ति लामो समय रहने भन्ने कुरा हामीलाई अहिलेसम्म थाहा भइसकेको छैन।अरू भाइरसहरूको अनुभवबाट के देखिन्छ भन्ने तुरुन्तै फर्किहाल्दैन, कम्तीमा दुई-चार हप्तादेखि दुई-चार महिनासम्म पटक्कै फर्किँदैन।
Views: 0