प्रधानमन्त्री ओलीलाई झन् अप्ठेरो

२०७७ बैशाख २४, बुधबार ०८:०६ गते २०७७ बैशाख २४, बुधबार ०८:०६ गते २०७७ बैशाख २४, बुधबार ०८:०६ गते

काठमाडौं, २४ वैशाख : पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो। स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन। दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो।

तर, उनीहरूबीच मंगलबार छलफलै भएन। उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको छ। दाहालले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ। नेकपाले सचिवालय बैठक आज (२४ वैशाख) र स्थायी समिति बैठक बिहीबार (२५ वैशाख)का लागि बोलाएको छ।बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनालसँग झन्डै एक घण्टा कुराकानी गरे। ओलीले खनालसँग कात्तिकयता एक्लाएक्लै छलफल गरेको यही पहिलो हो। दाहालसँगको छलफलपछि बालुवाटार पुगेका खनालले प्रधानमन्त्री चिन्तित देखिएको बताए। ‘प्रधानमन्त्री अलिक चिन्तित र तनावयुक्त मुडमा हुनुहुन्थ्यो। मैले उहाँ (प्रधानमन्त्री)लाई पार्टीलाई सम्मान गर्नुपर्छ। पार्टी सर्वाेपरी संस्था हो। पार्टीकै कारणले हामी सबै विभिन्न पोजिसनमा छौं।तपाईं प्रधानमन्त्री भएकै पनि पार्टीकै कारण हो। पार्टीका नीति र निर्णयहरू, पार्टीका विधिहरूलाई सम्मान गर्नुपर्छ। त्यसलाई लागू गर्नुपर्छ। दृढतापूर्वक पार्टीको पक्षमा उभिनुपर्छ। त्यहाँभन्दा अर्काे विकल्प छैन।

मेरो हार्दिक सल्लाह पनि तपाईंलाई त्यही छ भनेर आफ्ना कुरा राखें’, खनालले प्रधानमन्त्रीसँगको भेटबारे अन्नपूर्णसँग भने, ‘उहाँ चिन्तित भएको पाएँ।’ओलीले भने आफूविरुद्ध भएका घेराबन्दीदेखि पारिएका असहजताका विषयमा छलफल केन्द्रित गरेका थिए। ‘आफूलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा उहाँ (प्रधानमन्त्री) अलिक उद्धेलित हुनुहुन्थ्यो’, उनले ओलीसँगको संवादबारे थप खुलस्त पार्दै भने, ‘तर, मैले यसरी उत्तेजनामा आउनुहुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेको छु।’ ओली संगठनात्मक एकताका क्रममा नेताहरूले पाएको दोहोरो जिम्मेवारी खुम्चाउन लचक देखिएका छैनन्। त्यस्तै, उनी स्थायी समिति बैठक सरकारको नीति तथा कार्यक्रम, बजेट तयारी र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका विषयमा मात्र केन्द्रित गरेर छोटो अवधिका लागि मात्र आयोजना गर्नुपर्ने पक्षमा देखिएका छन्। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *