एजेन्सी। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नयाँ नक्शा जारी गर्न लगाए । कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको नेपालको नक्शा जारी भएपछि सिंगो देशमा लोकप्रीयता हासिल गरेका छन् । लकडाउनका समयमा उनले चालेका विवादास्पद कदमका कारण सत्ता संकट परिसकेको र अलोकप्रीयताको पींधमा पुगिसकेको अवस्थालाई उल्टाइदिए ।पहिलोः ओलीको लोकप्रीयता समुन्द्रको पींधबाट उठेर सगरमाथाको चुचुरोमा पुगेको छ । ओलीको अस्त्र यति मजबुत थियो कि सिंगो देशको ध्यान सगरमाथामा चीनले आफ्नो समेत दाबी प्रमाण पुर्याउन गरिरहेका गतिविधिमा समेत नागरिकको ध्यान जान दिएनन् । यतिसम्मकी चीनले राष्ट्रिय टेलिभिजनमा सगरमाथाको चुचुरोलाई शुरुमा आफ्नो भनी प्रचार गरी पछि सच्याएर चीन र नेपालको संयुक्त भनी प्रचार गराउँदा पनि न त सरकार बोल्यो न त जनतामा त्यसतर्फ आवाज उठाउने भावना नै जाग्यो ।
ओलीले नक्शा अस्त्रले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अहिलेलाई भारतलाई आच्छु आच्छु पारे । उनले भारतको नाम नलिई संसदको नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा ‘सरकार ढाल्ने कल्पना समेत नगर्न’ चुनौती दिए । यति भन्दै गर्दा उनले चिनियाँ राजदुत होउ यान्छीको नाम नलिई कुनै देशको राजदुतले सरकार थामिदिएको भन्नुलाई गलत भने । एकातर्फ उनले चीनको साथ लिएर सरकार जोगाएको चर्चा चलिरहेको छ अर्कोतर्फ भारतीय पक्ष उनको सरकार ढाल्न लागिपरेको विषय उत्तिकै उठेको छ । यो विषय उठिरहँदा ओलीले नक्शाको अस्त्रबाट भारतलाई अप्ठ्यारोमा पारेर चीनलाई खुशी बनाउन सके ।भारतीय सेनापति एम एम नरवाणेले चीनको उक्साहटमा नेपालले लिपुलेक हुँदै भारतले बनाएको लिंकरोडको विरोध गरेको टिप्पणी गरेलगत्तै चीनका लागि नेपालका राजदुत महेन्द्र पाण्डेले अन्तवार्तामार्फत् ‘सुरक्षा थ्रेट’ दिएको भनी अन्तवार्तामा बोले । ओलीको निर्देशनविना पाण्डेले बोले भन्ने पत्याउन सकिदैन । भारतीय सेनापतिको भनाईको जवाफ सेनापति पूर्णचन्द्र थापा या सैन्य तहबाट वा परराष्ट्र मन्त्रालयको तहबाट सिधै हुनुपर्नेमा चीनका लागि नेपाली राजदुत पाण्डेबाट दिइयो । यसबाट पनि ओलीले भारतलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न चीनको साथ लिइरहेको सन्देश दिन खोजे ।
दोस्रोः कोरोना भाइरसको रोकथामका लागि सरकारले चालेको कदम निकै हल्का र अदुरदर्शी खालको छ भन्ने क्वारेन्टाइन नै कोरोना कहरको केन्द्र बनेबाट स्पष्ट भएको छ । अपरिपक्व ढंगले भारतसँगको सिमा शुरुमा बन्द गर्ने र पछि एकैपटक खोल्दाको अनियन्त्रित मानव भेलले महामारी बढायो । सिमा पारी नै मानिसहरु संक्रमित भइसकेको र नेपाल छिर्दा क्वारेन्टाइनमा मृत्यु भएको सम्मको घटना बाहिर आयो । त्यसमाथि सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमितताको विषय पनि आयो ।लकडाउनको बखत समाजवादी पार्टी फुटाउन खोज्नु र सांसद सुरेन्द्र यादवको ‘अपहरण’ भएको भनिएको प्रकरणले सरकार आलोचित भयो । लकडाउनको बखत विवादास्पद दुई विधयेक ल्याइयो । पार्टी फुटाउने उद्देश्यले ल्याइएको विधयेकका कारण सरकार निकै आलोचित भयो । तर, सिमा विवादले यी सबै घरेलु विषय ओझेलमा पारिदियो । ओलीले यही मौकामा नक्शा जारी गरेर आफ्नाविरुद्ध लागेका आरोपलाई देशको पुरानो नक्शासँगै गाडिदिए ।
ओलीले नक्शालाई अस्त्रका रुपमा हानेर पार्टीभित्रका विरोधीलाई पनि कमजोर पारिदिएका छन् । उनका खरो आलोचक भीम रावल नै चुप लाग्नुपर्ने बनाइदिएका छन् । आफूविरुद्ध घेराबन्दी गरेर सत्ता ढाल्न तयार भएका भनिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत कमजोर बनाइदिएका छन् । उनीहरु ओलीको आलोचना सम्म गर्दा उल्टै ‘भारतपरस्त’ को आरोप खेपेर आलोचित हुनुपर्ने भयका कारण मौन बन्दै ओलीकै लयमा लय मिलाउन थालेका छन् । चिनियाँ राजदुत यान्छी एकै दिनको विहान प्रचण्ड र माधवकुमार नेपालको घर पुगेर के कुरा गरिन् र कस्तो दबाब दिइन् भन्ने तत्काल बाहिर नआएपनि पछि खुल्ला नै । प्रचण्डले घरमा यान्छी आएको तस्बिरसम्म बाहिर ल्याएर केही सन्देश त पक्कै दिएका छन् ।ओलीले ‘नक्शा अस्त्र’ बाट तत्काल सत्ता सुरक्षित पनि गरेका छन् । नेकपाभित्र र बाहिर समेत उनको प्रभाव बलियो बनेको छ । कुनैबेला महाकाली सन्धीको विरोध गरेर पार्टी समेत विभाजन गर्न पुगेका र कालापानीको विषयमा सशक्त रुपमा आवाज उठाउँदै आएका बामदेव गौतमले समेत ओलीलाई नक्शाको विषयले देवत्वकरण नगर भन्नुपरेको छ । पूर्व माओवादीका प्रभावशाली नेताहरुलाई समेत ओलीले आफ्नो पक्षमा पारिसकेका छन् । नक्शा जारी गरेर उनी झन् बलियो र सुरक्षित भएका छन् ।
तेस्रोः चीन र भारतबीच सिमा विवाद बढ्दै गएको छ । सिक्किममा दुई देशका सैनिकबीच झडप भएको छ । दोक्लाम घटनापछि यसै महिना पहिलोपटक झडप भएको हो । काश्मिरबाट अलग गरी भारतले छुट्टै राज्य बनाएको लदाखमा सैन्य उपस्थिति बढ्दो छ । भारतीय सेनापति एम एम नरवाणे शुक्रबार लदाख पुगेका थिए ।दक्षिण एशियामा चीनको बढ्दो उपस्थिति रोक्न भारत सक्रिय भइरहेको छ । तर, भारत पछिल्लो समय कुटनीतिक दृष्टिले नेपाल मामलामा असफल हुँदै गएको टिप्पणी रणनीतिक तथा कुटनीतिक मामलाका जानकारहरुले गर्दै आएका छन् । एस डी मुनीले भारत विदेश मामलामा चुक्दै गएको टिप्पणी गरेका छन् । नेपालमा चीनको बढ्दो उपस्थितिबारे भारतमा टिकाटिप्पणीहरु भइरहेका छन् । जनरल अशोक मेहताले नेपालमा चीनले भारतको ठाउँ लिइसकेको तर्क गरेका छन् । चीन निकै हावी भएको उनको टिप्पणी छ । भारतका पूर्व जनरल गगनदीप बक्सीले भारतले नेपाल मामलामा १५ वर्ष अघि नै सेल्फ गोल गरिसकेको टिप्पणी गरका छन् । उनले माओवादीलाई भारतले नै पालनपोषण गरी नेपालमा हिन्दु राष्ट्र समाप्त गर्न पठाउँदाको सजाय भोग्नुपरेको बोलेका छन् ।
नेपालमा चीनको बढ्दो प्रभाव घटनाक्रमले पुष्टि गर्दै लगेको छ । माओवादीको सत्तारोहणयता चीनको प्रभाव बढेको र ओलीको सत्तामा त्यो झन् विस्तारित र सशक्त हुनपुग्यो । नेपालका नेताहरुमध्ये भारतलाई सबैभन्दा बढी बुझेका र भारतीय नेताहरुसँग उठबस गरेका ओलीले नक्शा जारी गरेर भारतलाई सिमाका विषयमा वार्ताका लागि वाध्य पार्ने अवस्था बनाएका छन् । भारतको विदेश मन्त्रालयले पनि कुटनीतिक वार्तामा जोड दिएको छ । जनरल अशोक मेहता, प्राध्यापक एस डी मुनी देखि प्राध्यापक महेन्द्र पी लामा समेत वार्तामै जोड दिइरहेका छन् । भारतले विगतमा सिमा विवादमध्ये कालापानीको विषयमा वार्तालाई आलटाल गर्ने गरेको विषय उठ्ने गरेको थियो । यसपटक भारतीय विज्ञहरुले अनलाइनमै भएपनि वार्ता हुनुपर्नेमा जोड दिएका छन् ।अर्कोतर्फ, ओलीले कालापानी क्षेत्रको सिमा विवादमा चीनलाई उपस्थित गराउन खोजेको देखिन्छ । नक्शा जारी गरेर उनले त्रिदेशीय सिमा क्षेत्रमा त्रिदेशीय वार्ताको वाध्यकारी अवस्था बनाउन खोजेका छन् । हुनत चिनियाँ विदेश मन्त्रालयले भारत र नेपालको मामलामा संलग्न नहुने र दुई देशबीच समाधान होस् भन्नेमा जोड दिएको छ । तर, चीन कहीं न कहीं यो मामलामा देखिन र सुनिन चाहेको छ ।
भारतसँगको सिमा विवादमा चीनले यस्ता विषयमा ‘बार्गेनिङ पावर’ बढाउन सक्छ । ओलीले नक्शाको अस्त्र हानेर चीनलाई नेपाल मामलामा झन् बलियो बनाइदिएका छन् । भारतलाई नराम्रो धक्का मात्र परेको छैन आफ्नो सबैभन्दा निकटस्थ मित्रशक्तिसँगै नै सिमा विवादको विषय सँसारभर फिजिएको छ । त्यो पनि कोरोना कहरको बखत ।ओलीले यो अस्त्रबाट भविष्यमा चीनको झन् बढी साथ पाउने अवस्था सृजना गर्न सफल भएका छन् । अब उनलाई नेपाली जनताले पनि ‘चीनबाट चुच्चो रेल ल्याउँछु भनेको किन नल्याएको ?’ भनी प्रश्न सोध्ने छैनन् । देशको नयाँ नक्शा जारी गरेकाले ‘राष्ट्रवादी’ बन्दै यही देखाएर अर्को चुनाव समेत जित्नसक्ने माहोल तयार गरेको छ । जसरी उनले नाकाबन्दीमा भारतको विरोध गरेर ‘राष्ट्रवाद’ को पहिचानसहित चुनाव लडेर सानदार जित हासिल गरे नयाँ नक्शा त्योभन्दा सशक्त राजनीतिक अस्त्र बनिसकेको छ । तर, यसको प्रभावकारिता र दीगोपनमा भने प्रश्न गर्ने प्रशस्त ठाउँ छ ।
Views: 0