पाल्पा, ९ असार : सोमबार दिउँसो पाल्पाको तानसेन-११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु हुनेको मंगलबार पहिचान खुलेको छ ।मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका-२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका-२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।
घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरो खस्दा अवरुद्ध तानसेन-तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन मंगलबार बिहानदेखि सञ्चालनमा आएका छन् ।पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ । लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
Views: 0