काठमाडौं, २२ असार : भारतीय गुप्तचर संस्था नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख तथा त्यहाँका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अहिले गोप्य भ्रमणमा काठमाडौंमा छन् ।उच्च स्रोतका अनुसार रअका प्रमुख सामन्तकुमार गोयल, इन्टेलिजेन्स ब्युरो (आईबी) का प्रमुख अरविन्दकुमार तथा अन्य उच्च गुप्तचर अधिकारीहरु काठमाडौं आएका छन् ।उनीहरु काठमाडौंको सोल्टी होटलमा बसेकोमा अहिले द्धारिकाज् होटलमा सरेका छन् । त्यसैगरी गुप्तचर टोलीका सदस्यहरु भिभान्ता र मेरियट होटलमा पनि बसेका छन् । को कुन होटलमा बसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन ।
स्रोत अनुसार गुप्तचार टोली आएर बसेपछि सोल्टी होटल अन्य ग्राहकका लागि पूरै बन्द गरिएको थियो । गुप्तचरहरुको एउटा टोली आइतबार राति सडक मार्ग भएर स्वदेश फर्केको उच्च स्रोतको दावी छ । अजित डोभल सहितको टोली काकडभिट्टा नाकाबाट नेपाल आएको बुझिएको छ ।भारतीय टोलीको उद्देश्य नेपालको स्थलगत निरीक्षण पनि गर्नु रहेको अाकलन गरिएको छ । चीनसँग चरम तनाव झेलिरहेको भारतको प्रमुख गुप्तचर निकायका प्रमुखहरु एकसाथ नेपाल आउनुलाई अनौठो मनिएको छ ।उच्च सुरक्षा स्रोत अनुसार अजित डोभलको टोलीमा सिभिल इन्जिनियरहरु, भूगर्भविद्, हवाई इन्जिनियर लगायतका प्राविधिकहरु समेत आएका छन् । उनीहरुले केही विशेष उपकरणहरु पनि लिएर आएको बुझिएको छ ।उच्च स्रोतले दिएको जानकारी अनुसार अजित डोभलले काठमाडौंमा सीमित नेता तथा सुरक्षा अधिकारीहरुसँग भेटेका छन् । तर, रअ र आईबीका प्रमुखहरुले भने व्यापक भेटघाट गरेका छन् ।
ककसलाई भेटे ?स्रोत अनुसार गुप्तचर प्रमुखहरु सहितको टोलीले काठमाडौंमा सघन भेटघाट गरिरहेको छ । उनीहरुले विशेषगरी नेकपाका नेताहरुसँग भेटेका छन् । गुप्तचर टोलीले नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेका छन् ।त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा. मिनेन्द्र रिजाल, देउवाकी धर्मपत्नी तथा पूर्व सांसद् आरजू देउवासँग पनि भारतीय गुप्तचर टोलीले भेटेको छ । त्यसैगरी डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्त ठाकुरसँग पनि भारतीय उच्च टोलीले भेटेको बुझिएको छ ।
स्रोत अनुसार भारतीय उच्च टोलीले सरकारमा रहेकाहरुसँग अहिलेसम्म भेटेका छैनन् तर भेट्ने योजना रहेको बुझिएको छ । सरकारको जानकारी बिना यो टोली नेपालमा नआएको आकलन गरिएको छ । यद्यपी सुरक्षा निकायहरुले डोभलसहितको टोली नेपाल आएको औपचारिक रुपमा पुष्टि गर्न मानेको छैन ।दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिमण्डलका सदस्यहरुको अनौपचारिक भेलामा एक मन्त्रीले भारतीय उच्च टोली नेपाल आएको बारे कुरा उठाएका थिए । उच्च राजनीतिक स्रोत अनुसार भारचीय उच्च टोलीले नेपालको गोप्य भ्रमण र भेटघाट गरेको थाहा पाएपछि चिनियाँ राजदूत पनि अचानक सक्रिय भएको पाइएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले विभिन्न नेताहरुसँग भेट्न थालेकी छिन् । भारतको तर्फबाट अजित डोभल र चीनको तर्फबाट त्यहाँका विदेश मन्त्री वाङ यीले केही दिनमै वार्ता गर्ने समाचार भारतीय मिडियाहरुले दिइरहेको बेला डोभल भूमिगत रुपमा नेपाल आएका हुन् ।केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग तनाव भइरहेको लद्दाखको भ्रमण गरेका थिए । सो भ्रमणमा उच्च भारतीय सुरक्षा अधिकारीहरु पनि सामेल थिए । तर, लद्दाख गएको टोलीमा अजित डोभल नदेखिनुलाई भारतीय मिडियाहरुले अनौठो रुपमा लिएका थिए । – सनराइज खबर
Views: 0