एजेन्सी। राम माया तामाङ दुवाकोट मोड, भक्तपुरमा आफ्नो छोरासँग बस्दै आएकी छिन्। उनको एक छोरा र एक छोरी छन्। छोरीको विवाह भइसक्यो। अहिले उनी गलैँचा र कार्पेट बुनेर घर चलाउँछिन्। शहरको महँगाइले उनी नराम्रोसँग पिल्सिएकी छिन्। छोरालाई राम्रो स्कुल पढाउन र आफूले पनि दुई चार पैसा कमाउन सकिन्छ कि भनेर उनी हेटौँडाबाट काठमाडौँ आएकी थिइन्। तर फि तिर्न नसकेर छोरालाई बोर्डिङ स्कुलबाट निकालेर सरकारी स्कुलमा पढाउन बाध्य छिन्। उनका श्रीमानले छोरा नजन्मिँदै कान्छी श्रीमती ल्याएर छुट्टै बस्न थाले। उनी त्यसपछि बिचल्लीमा परिन्। छोराछोरीको जिम्मेवारी एकैचोटी आफ्नो काँधमा आइपरेको थियो। उनको खासै पढाइ पनि थिएन। त्यसैले नेपालमा राम्रो कमाइ हुने छाँटकाँट नदेखेपछि उनले विदेशको बाटो रोजिन्। उनी वैदेशिक रोजगारीको लागि साउदी गइन्।
घरेलु काम गर्न गएकी राम मायाले आफू काम गर्ने घरपरिवार भने राम्रो भेटिन्। श्रीमान, श्रीमती, ७ वर्षको छोरा र ८ महिनाकी सानी छोरी भएको ४ जनाको परिवारको घरको काम गरिदिनुपर्थ्यो। सरसफाइ गर्ने, खाना खाजा बनाउने, बच्चा हेरिदिने आदि। सुरुको ३ देखि ४ महिना भने भाषा नबुझेर केही कठिन भयो। काम अह्राउँदा केही नबुझेर सुरुसुरुमा मुन्टो मात्र हल्लाउँथिन्। इसारामा कुरा गर्थिन्। बिस्तारै सिक्दै गइन्। त्यसपछि काम गर्न कुनै समस्या भएन।
त्यहाँ घर बाहिर एक्लै निस्किन भने पाइँदैनथ्यो। कतै जानुपर्दा साहु साहुनीसँग नै जानुपर्थ्यो। साहु साहुनी पनि मनकारी नै थिए। कतै घुम्न जाँदा अथवा बाहिर जाँदा उनलाई साथै लिएर जान्थे। छुट्टी भने हुँदैन थियो। छुट्टी भनेको २ वर्षमा एक चोटि पाइन्थ्यो। त्यस छुट्टीमा उनी सधैँ घर फर्किन्थिन्। छोराछोरी उनकी आमासँग माइतमा बस्थे। आमा पनि बिरामी थिइन्। त्यसैले पनि आमा र छोराछोरीको चिन्ताले उनलाई कहिल्यै छोड्दैन थियो।
हरेक २ वर्षमा आउने जाने गर्थिन्। उनी दोस्रो चोटिको छुट्टीमा परिवारसँग समय बिताएर विदेश फर्किएकी थिइन्। आमा बिरामी थिइन्। उनलाई क्यान्सर रोगले गाँज्यो। राम मायाले उपचार खर्च पेलेर आफूले सकेको त गरिरहेकी थिइन्। तर समयको अगाडी उनको केही लागेन। आमा बित्नुभयो। आमालाई अन्तिम पटक देख्न नपाइ उनको अन्तिम संस्कार गरियो। उनले विदेशमै बसेर जुठो बारिन्। अर्काको देश, आफू काम गर्न गएको, रोइकराई गरेर घर फर्किन मिल्दैन थियो। उनी पिर खप्दै अरूकोमा काम गर्न बाध्य थिइन्। त्यसै गरिन्।
आमाको शेखपछि छोराछोरी एक्लै बस्न थाले। उनीहरूलाई खर्च पठाइदिन्थिन्। तलब त्यति धेरै थिएन। सुरुमा जाँदा ७०० रियाल थियो। २ वर्षपछि ८००, त्यसको एक वर्षपछि ८५० र फेरी एक वर्षपछि ९०० रियालसम्म भयो। छोराछोरीलाई घर खर्च पठाउँदा नै तलब लगभग सकिन्थ्यो। बचत गर्नका लागि कहिल्यै रकम बच्दैन थियो।उनी ६ वर्षपछि छुट्टीमा घर आएकी थिइन्। त्यसपछि हाउसकिपिङ कामको लागि खाडी मुलुक जान सरकारले रोक लगाइदियो। उनी फर्किन पाइनन्। सपछिको एक महिना जति उनी अन्योलमा परिन्। नेपाल बसेर राम्रो कमाइ हुँदैन भनेर उनलाई पिर पर्न थाल्यो। उनले गलैँचा बुन्न जानेकी थिइन्। १३ हजार रुपैयाँमा तान र ठ्वा किनेर ल्याइन्। अनि घरमै बसेर गलैँचा बुन्न थालिन्।
गएको असारको पहिलो साता आप्रवासी महिला कामदार समूह (AMKAS) बाट विदेशबाट फर्किएका महिलाहरूलाई मास्क बनाउने तालिम दिइएको थियो। उनी त्यस तालिममा सहभागी भइन्। तालिम लिएपछि आजकाल मास्क पनि सिलाइरहेकी छिन्। ३ देखि ४ सय मास्क बनाइसकेकी छिन्। विदेशमा काम गर्दा उनकी साहुनीले आफू माइत जाँदा उनलाई पनि सँगै लिएर जाने गर्थिन्। त्यहाँ बस्दा कहिलेकाहीँ सानो हाते मेसिनमा उनलाई उध्रेका लुगाहरू सिलाउन दिन्थिन्। त्यहाँ त्यसरी काम गर्दागर्दै उनले मेसिन चलाउन सिकी सकेकी थिइन्। त्यसैले मास्क सिलाउन उनलाई कुनै अप्ठ्यारो भएन। अहिले मास्क सिलाएर र गलैँचा बुनेर नै आफू र छोरालाई जसोतसो पालिरहेकी छिन्। साहसी भए तापनि उनलाई पनि बेलाबेला एक्लोपन र गरिबीले सताउँछ। भन्छिन्, “एक्लै कमाउनु पर्छ। अरू केही काम गरौँ भने लगानी चाहिन्छ, लगानी छैन।”
Views: 0