काठमाडौः बुधवार मध्यान्हतिर झापा गाउँपालिका वडा नम्बर ३ स्थित कटुवामारी भन्ने स्थानमा गोरु काटेको भन्ने खबर प्रहरीलाई आयो। नेपालको कानुनले गोरु काट्नु अपराध मानेको छ। त्यसैले सूचना आउने बित्तिकै प्रहरी चौकी टाघन डुब्बाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) संदीप बोगटी र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट सहायक प्रहरी निरीक्षक(असई)को नेतृत्वमा टोली घटनास्थल तर्फ लाग्यो।सूचना आएको ठाउँमा हेर्दा पशु काटिएको देखियो। तर, त्यतिखेर नै गोरु नै हो कि के हो भन्ने खुल्न सकेन। तर प्रहरीको प्रारम्भिक अनुसन्धानले गोरु नै काटेको देखायो। प्रहरीले सोही स्थानमा बस्ने ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुललाई समात्यो।
काटिएको मासुसहित प्रहरीले उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय झापामा ल्याए। केही समयको अनुसन्धानपछि उनीहरुले गोरु काटेको भन्ने देखियो। नियन्त्रणमा लिएका उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्नु पर्ने देखिएपछि प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तर्खर गरेको थियो।यता उनीहरुलाई सामिएपछि माहोल बिग्रिँदै गएको थियो। स्थानीय उनीहरु समातिएपछि आक्रोसित बनेका थिए। प्रहरीले यो सूचना पाइसकेको थियो। त्यसपछि उनीहरुलाई म्याद थप गर्न लाग्दा बाटोमा अवरोध हुनसक्ने आशंकामा प्रहरीले बाटोको अवस्था बुझ्न प्रहरी पठाएको थियो। तर, कामाटोली भन्ने स्थानमा ड्युटीमा खटिएको सुरक्षाकर्मीहरुलाई स्थानीयबासीले घेरा हाले।
स्थिति यहीँबाट असामान्य बन्यो।’हाम्रो टोलीलाई घेरा तथा गाडीमाथि तोडफोड भयो। एउटा ठूलो समूहले नै घेरा हालेका थिए,’ जिल्ला प्रहरी कार्यालय झपाका डीएसपी राकेश थापाले भने। स्थिति असामान्य हुँदै गयो। त्यसपछि सुरक्षाकर्मीको तर्फबाट हवाइ फायर भएको थियो।प्रहरीले हानेको गोली लागेर झापा गाउँपालिका ३ बस्ने ३८ वर्षीय रसिकुल आलम घाइते भए। उनलाई तत्काल बीएण्डसी अस्पताल पुर्याइयो। तर चिकित्सकले उनलाई बचाउन सकेनन्। झडपमा परी दुई प्रहरीसमेत घाइते भए।’एक्कासी प्रहरीमाथि केही समूहले आक्रमण गरेपछि गोली चलेको थियो। अहिले अवस्था सामान्य भएको छ। मेयर साबको जमानतमा दुई जनालाई रिहा गर्ने माग राखेका छौं,’ झापा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोतिलाल गणेशले भने।
Views: 0