काठमाडौं, माघ २४ : आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ । यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् । अनलाइन खेल खेल्न ई–पे (टपअफ) गर्ने लत बसेको छ ।
बूढानीलकण्ठस्थित एक घरबाट केही दिनअघि भएको २५ हजार रुपियाँ चोरीमा घरधनीकै छोरा संलग्न पाइयो । एसईईको तयारीमा जुटेको छोराले चोरी गरेको रकम अनलाइन गेममा खर्च गरिसकेको प्रमाण फेला परेपछि अभिभावक झस्किएका थिए ।महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द ‘छोराछोरीको आनीबानीप्रति अभिभावक सचेत र सतर्क नहुँदा यस्ता घटना बढ्दै जाने बताउँछन् ।त्यस्तै रुपन्देहीमा ‘पब्जी’ नामको अनलाइन गेम हारेका कारण आत्महत्याको प्रयास गरिरहेका एक बालकको नेपाल प्रहरीको साइबर ब्युरोले उद्धार गरेको छ ।कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेभसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
Views: 0