काठमाडौं, ११ फागुन : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दु:खद भएको बताएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।वर्ल्ड ओ मिटरकाअनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको ज्यान गएको छ । ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह गरेका छन् । उनले कोरोनाविरुद्धको लडाइमा सबैले मिलेर जुट्नु पर्नेमा जोड दिएका छन् ।राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडनले भने, ‘एउटा मुलुकको रुपमा हामीले यस्तो क्रुर भाग्य स्वीकार गर्न सक्दैनौं ।’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइएको थियो । सम्बोधनपछि ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो, साथै राष्ट्रपति र उपराष्ट्रपतिले केहीबेर मौनधारण गरेका थिए ।
बाइडनले अमेरिकी नागरिकहरुसँग कोरोनाविरुद्धको लडाइँमा सहयोगको आह्वान पनि गरेका छन् । साथै बाइडेनले कोरोनाबाट ज्यान गुमाउनेको सम्झनामा सरकारी कार्यालयमा पाँच दिनसम्म राष्ट्रिय झण्डा झुकाउने आदेश दिएका हुन् । अमेरिकी राष्ट्रपति बाइडनले पदभार ग्रहणसँगै कोरोनालाई गम्भीररुपमा लिनुपर्ने बताउँदै आएका छन् ।उनले कोरोना नियन्त्रणको लागि खोप कार्यक्रमलाई तीव्रता दिनेजस्ता केही महत्वपूर्ण कदम पनि चालेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई कमजोर आँक्दै आएका थिए । कोरोना भाइरसको महामारीका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ अहिलेसम्म दुई करोड ८८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
Views: 0