काठमाडौँ: पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्री पशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्न नहुने तर्क गर्नु नाजायज भएको प्रतिक्रिया दिएका छन् । सुनको जलहरीबारे आम मानिसमा भ्रम परेको समेत उनले बताए ।
सञ्चारकर्मीको जिज्ञासामा शनिबार उनले भने, ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवानको आजको श्रृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो ।’
वर्षमा चारवटा नवरात्रमध्ये चैत्र नवरात्र, शारदीय नवरात्र, माघ र आषाढ शुक्लमा पर्ने गुप्त नवरात्र । अहिले माघ शुक्ल पक्ष हो, यसमा काम्यकर्मलाई वर्जित हुन्छ, नित्यकर्ममा वर्जित नभएको एक धर्मगुरुले पुष्टि गरे । जलहरी भगवानलाई चढाइएको गहना भएको र यसमा प्राणप्रतिष्ठा गर्नुपर्ने जरुरी नभएको डा. थापाको तर्क छ ।
पशुपतिनाथमा गत वर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । आषाढ शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार, भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ ।
‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवानको पीठिका (जलहरी), मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ’, उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने ? पुरातत्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन ।’
‘पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण (सुन) को छानो बनाएर चढाउनुभयो भन्ने कुरा त अभिलेख र वंशावलीहरुमा नै उल्लेख छ । चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो ? त्यो हुने यो नहुने भन्ने हुन्छ ?’ डा. थापाले सोधे।
इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शनमा समीक्षा’मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ । कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ ।
डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान’ मा लेखिएको छ, ‘शिवलिंग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’ मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिंग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिंग प्राकृत हो भनिएको छ ।
शिवलिंगको इतिहासका बारेमा स्कन्द पुराण केदारखण्डको ३१औं अध्यायमा १४ शिवलिंग पुज्ने गरिएको र तीमध्ये नौ नम्बरमा स्वर्णलिंग शब्द लेखिएको छ ।
Views: 0