काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले शुक्रबारको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे|
‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ| उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने| यसैक्रममा विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताएका छन् । उक्त समारोहमा उनले भने, ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ| अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ ।’ आजको सहमति सरकार नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार भएको उनले बताए|
विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन । युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो ।’ सरकार र नेकपा चन्द समूहबीच दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्ने, विप्लव समूहले सबै राजनीतिक गतिविधि शान्तिपूर्ण माध्यमबाट गर्ने भएको छ ।यस्तै विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने पनि सहमति भएको छ । उनले सहमतिमा आफू प्रतिबद्ध भएको पनि बताए । विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने पनि बताएका छन् ।उनले संयोगले (आज) शुक्रबार सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताए| ‘हामीले जस्तोसुकै कठिनाइ भोग्नुपरे सहिदको सपना मर्न दिदैनौँ’ विप्लवको भनाइ छ|
विप्लवले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क समेत गरेका छन् । उनले समाजमा चार थरी मानिस पाइने बताए । ‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्,’ उनले भने, ‘तेस्रो थरी मानिस गुन-गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन् ।’ यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् भन्ने उदाहरण आज आफूहरुले दिएको उनले बताए ।उनले सरकारसँग भएको तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको प्रस्ट पारे । ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उत्तेजनात्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रतिवद्ध छौं ।’ नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको भए पनि पूरा नभएको उनले बताए|
‘किसान, दलित, महिला लगायत उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ उनले भने, ‘जनताको प्रतिनिधि, श्रमजीवी वर्गको प्रतिनिधि हुनुको हिसाबले जहाँ जहाँ आफ्ना कुरा राख्नुपर्ने हो, हामीले राख्यौं । अहिलेको सरकारसँगको कुरा होइन, नेपालको राजनीतिक रुपान्तरणको समग्र प्रक्रियामा सहमत हुन सकेनौँ र आफ्नो तर्फबाट विद्रोह गर्यौं| ’ तर अहिले देशमा असुरक्षा बढेको, राजनीतिक अस्थिरता देखा पर्न थालेको उल्लेख गर्दै उनले आफूहरु शान्तिको दूत बनेर आवश्यक भूमिका निर्वाह गर्न तयार भएको प्रस्ट पारे ।उनले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने बताएका छन् । ‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौ’, विप्लवको भनाई छ । उनले जनतालाई फैसला गर्न वातावरण बनाउन जरुरी छ रहेको भन्दै जनताले सधैंभरी जनता दलाल पुँजीवादको चक्रमा सधै घुम्नुपर्ने नियतिको अन्त्य हुनुपर्ने बताए । उनले नेपाली जनताले आत्मत्वको निर्णय गर्न पाउने अधिकार दिनुपर्ने भन्दै त्यसका लागि आफुहरुको अडान कायमै रहेको बताए|
‘हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता दल सवैलाई चुन्यौ । हामी यहाबाट आग्रह गर्न चाहान्छौ कम्युनिस्टहरु युद्धको अन्त्य गर्छन् । जुन दिन कम्युनिस्ट विजय भएपछि हतियारको अन्त्य हुनेछ ।’ उनले घुम्दै फिर्दै रुम्जाटार भन्ने प्रवृत्ति नेपालमा देखिएको भन्दै त्यो प्रवृति बदल्नु जरुरी रहेको बताए । उनले त्यसका लागि आफु हातेमालो र सहकार्य गर्न तयार रहेको पनि बताए|
Views: 0