काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अध्यादेश मार्फत नागरिकता विधेयक जारी भयो । सरकारले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेको भोलीपल्ट पूर्वमन्त्री भीम रावलले एक ट्वीट सार्वजनिक गरे । जुन ट्वीट पूर्ण रुपमा गलत भएको पुष्टि भएको छ । उनले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखेका थिए ।
महामारी फैलिएको समयमा अहिले भारतीय सिमा बन्द छन् । यस्तो अवस्थामा अध्यादेश जारी भएको भोलीपल्टै नागरिकता लिनेको लाइन लाग्ने कुरा स्वभाविक लाग्दैन । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । अत्यावश्यक काम बाहेक सर्वसाधारण वाहिर पनि निस्कन नपाएको समयमा नागरिकता लिनकै लागि भारतवाट लाइन लागेर मानिस नेपाल कसरी आए ? उनले यस्तो अनौठो कुरा ट्वीट गरेपछि रावलकै आलोचना भएको छ । निकै आलोचना भएपछि रावलले मंगलबार बिहान आफ्नो उक्त विवादास्पद ट्वीट हटाएका छन् । तर उक्त विषयको तरंग उनले ट्विट डिलिट गरे पनि कायमै छ ।
उनले उक्त ट्वीट डिलिट गर्दै अर्को ट्वीट गरेका छन्, त्यसमा पनि आफूले अघिल्लो ट्वीटमा त्यस्तो लेख्नु कुनै गलत कुरा होइन भन्दै वचाउ गरेका छन् । नागरिकता जस्तो सम्बेदनशिल विषयमा जिम्मेवार नेतावाटै यस्तो गलत कुरा लेखिनु निकै गम्भिर कुरा भएको भन्दै आलोचना गरिएको छ ।
गलत अफवाफ फैलाउँदै ट्वीट गरेपछि आलोचना भोगेका उनले त्यो ट्वीट डिलिट गर्दै फेरी अर्को ट्वीट लेखेका छन्, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन, सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’
Views: 0