भेरी अस्पतालमा खासमा के भएको थियो: झ्यालबाट हामफालेर भागेकि नर्सको यस्तो खुलासा

२०७८ जेष्ठ १४, शुक्रबार १७:०७ गते २०७८ जेष्ठ १४, शुक्रबार १७:०७ गते २०७८ जेष्ठ १४, शुक्रबार १७:०७ गते

काठमाडौं जेठ १४  – मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए ।बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन ।

कुरुवाले मेरो बिरामीलाई मार्ने भयो भन्दै चिकित्सक तथा नर्सहरुलाई टर्चर दिइरहनु भएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै उनले धम्की दिइरहेका थिए ।अन डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु उनकै बिरामीको उपचारमा ब्यस्त थिए । उनलाई बचाउन सबै प्रयास जारी राखेका थियौं । तर पनि हामीले बचाउन सकेनौं । उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्कँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

एक्कासी ६र७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर उनीहरुबाट बलतल्ल छुटाउन सफल भए । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें ।उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन । क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं ।

एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

डा। चन्द्रप्रकाश शाहुले मलाई हाम फाल्न फोर्स गरिरहनु भएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनु भएको थिएन । मलाई डा। शाहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा। शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।रातिको त्यो कहाली लाग्दो र त्रासदीपूर्ण दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ ।

त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । त्यति माथिबाट हाम फाल्दा पनि कसरी बाँचे होला भनेर आफैंलाई विश्वास गर्न गाह्रो लागिरहेको छ । विकल्प पनि थिएन हामीसँग । उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूर्ण अनि त्रासदीपूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।एकतला माथिबाट हामफालेकाले हुन सक्छ अहिले मेरो शरीरको पछाडि पेन भइरहेको छ । घाँटीमा पनि निलो डाम परेको छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन ।

नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास ममा थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिन । रातभर त्यही त्रासदीपूर्ण दृश्य आँखा वरपर झलझली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकि रहेको छैन । बिरामी कुरुवा दाईले मेरो उद्धार नगरेको भए मेरो ज्यानै जान्थ्यो होला । त्यो घटनाले मलाई अहिले यो पेशामा किन लागेछु, मेडिकल लाइन किन रोजेछु भन्ने लागेको छ ।

यो घटनाले इमोश्नल रुपमा बलियो पनि बनाएको महसुस गरेको छु । अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ ।यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो ।

त्यसैले यस घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नु पर्छ । मनोवल गिरेका स्वास्थ्यकर्मीहरुले कसरी बिरामीको उपचार गर्न सक्छ ? त्यसैले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेमात्रै स्वास्थ्यकर्मीमाथि भोलिका दिनमा यस्तो घटना दोहोरिने थिएन । गैरे भेरी अस्पताल नेपागञ्जमा कार्यरत नर्स हुन । उनी विगत २ बर्षदेखि विरामीको सेवामा अनवरत खटिरहेकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *