काठमाडौं, १८ जेेठ : कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।
तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे ।
सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
गाउँघरमा बढ्दै गएको संक्रमण रोकथामका लागि के गर्ने ?पछिल्लो सयम कोरोना भाइरसको संक्रमण झनै फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको संक्रमण फैलिँदो छ ।
कोरोना संक्रमणले भयावह रूप लिँदा पनि गाउँघरमा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका गतिविधिमा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै सहभागी हुने क्रमले पनि संक्रमण फैलिँदै गएको छ । गाउँघरमा फैलिएको संक्रमण कसरी रोकथाम गर्न सकिन्छ त ?डाक्टर विराज कर्माचार्य भन्छन्, एक गाउँबाट अर्को गाउँमा हुने मानिसको ओहोरदोहोर बन्द गर्ने, एउटै गाउँका स्थानीयवासिन्दाले पनि एक आपसमा धेरै हेलमेल नगर्ने । यस्तै हरेक गाउँमा आइसोलेशन र क्वरेण्टीन बनाउने गरे पनि संक्रमणको रोकथाम गर्न सकिन्छ ।
यस्तै संक्रमण रोकथामका लागि सामूहिक रूपमा परीक्षण गर्न सकिन्छ तर धेरै जनाको परीक्षण गर्न सम्भव छैन भने संक्रमणको जोखिममा रहेका व्यक्ति वा जोखिमयुक्त सहर, बजारबाट गएकाहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने डाक्टर विराज कर्माचार्य बताउँछन् ।उनका अनुसार परिवारका एक सदस्यको परीक्षण गराउँदा पनि संक्रमण फैलिएको दर पत्ता लगाउन सकिन्छ ।
यति कुरामा ध्यान दिन सके मात्रै पनि ८५ प्रतिशत थप संक्रमण फैलिनबाट जोगाउन सकिने डाक्टर कर्माचार्यको भनाइ छ ।यस्तै संक्रमण भइहाले पनि नआत्तिकन स्वास्थ्यको ख्याल गर्नुपर्ने उनी बताउँछन् । संक्रमण हुँदैमा ठूला-ठूला अस्पतालमा लैजानु पर्दछ भन्ने छैन । तर पाँच दिनभन्दा बढी समयसम्म ज्वरो आए प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उपचार गर्न सकिन्छ ।
अन्यत्रै रेफर गर्नुपर्ने खालका बिरामी भएमा भने सम्बन्धित पालिका र सरोकारवालाले एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेछ । यस्तै संक्रमितको स्वास्थ्यबारे फोनमार्फत पनि नियमित निगरानी गर्न सकिन्छ । रगतमा अक्सिजनको मात्रा घटेरनघटेको हेरेर आफन्तले बिरामीको ख्याल गर्नुपर्नेमा डाक्टरले जोड दिएका छन् ।
Views: 0