अष्ट्रेलिया जेठ २० : भिक्टोरियामा लगातार सात दिन भन्दा बढी समयका लागि लक-डाउनमा बस्नु पर्ने मानिसहरूले संघीय सरकारको तर्फबाट साप्ताहिक आर्थिक सहयोग पाउने भएका छन्। तर यस आर्थिक सहयोगले पर्याप्त काम गर्न नपाएका क्याजुवल कर्मचारी, आप्रवासी कामदार र अन्तराष्ट्रिय विद्यार्थी-हरूलाई सहयोग नगर्ने भन्दै केही कल्याणकारी समूहहरूले उल्लेख गरेका छन्।
सात दिन भन्दा बढी लकडाउनमा रही, संघीय सरकारका प्रमुख स्वास्थ्य अधिकारीले हटस्पट घोषणा गरेका ठाउँका मानिसहरूले यो सहयोग पाउने, प्रधान मन्त्री स्कट मोरिसनले बताएका छन्। यो अस्थायी आर्थिक सहयोग १७ वर्ष भन्दा बढी उमेरका अस्ट्रेलियाली नागरिक, या अस्ट्रेलियामा काम गर्ने अनुमति भएका भिसा धारकहरूले पाउने छन्।
“यो अस्थायी कोभिड भुक्तानी साप्ताहिक हिसाबमा दिइने छ,” प्रधान मन्त्री स्कट मोरिसनले बिहीबार क्यानबेरामा पत्रकारहरूलाई बताएका हुन्। प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्ने मानिसहरूले ५०० डलर पाउने छन्, र बीस घण्टा भन्दा कम काम गर्ने मानिसहरूले ३२५ डलर पाउने छन्।
यस आर्थिक सहयोग पाउनका लागि केही मापदण्ड भने पूरा गर्नु पर्ने हुन्छ। मानिसहरूले यस अवधिमा लकडाउन नभएको भए आफू काममा जान पाउने, र लकडाउनका कारण कमाइमा असर परेको भनी प्रमाणित गर्नु पर्ने हुन्छ।त्यस्तै, आफ्नो काम या सरकारबाट जबसीकर जस्ता महामारी भत्ता नपाएको प्रमाण पनि देखाउनु पर्ने हुन्छ।
यस भुक्तानी पाउन चाहनेहरूले आफ्ना तरल सम्पत्ति १०,००० डलर भन्दा कम भएको पनि देखाउनु पर्ने हुन्छ। तत्काल कठिन आर्थिक अवस्थामा रहेका भिक्टोरियालीहरूका लागि यो योजना तयार गरिएको मोरिसनले जोर दिए।महानगरीय मेलबर्नका बासिन्दाहरू थप सात दिनका लागि लकडाउनमा बस्नु पर्ने भनी कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले घोषणा गरे पछि, संघीय सरकारले यो आर्थिक सहयोग सुरु गरेको हो।
तर यस आर्थिक सहयोगले पर्याप्त काम गर्न नपाएका क्याजुवल कर्मचारी, आप्रवासी कामदार र अन्तराष्ट्रिय विद्यार्थीहरूलाई सहयोग नगर्ने भन्दै केही कल्याणकारी समूहहरूले उल्लेख गरेका छन्।मार्चमा संघीय सरकारको जबकीपर भुक्तानी अन्त्य भए पछि लम्बिएको यो पहिलो लकडाउन हो।भिक्टोरियाली सामाजिक सेवा समूहकी प्रमुख कार्यकारी अधिकृत एमा किङ्गले मोरिसन सरकारको यो आर्थिक सहयोग पर्याप्त नरहेको बताइन्।
“यदि तपाईँ क्याजुवल कर्मचारी हुनु हुन्छ र पर्याप्त घण्टा काम गरिरहनु भएको छैन, आप्रवासी कामदार हुनु हुन्छ, शरणार्थी हुनु हुन्छ, या अन्तराष्ट्रिय विद्यार्थी हुनु हुन्छ – यस सहयोगले तपाईँको मद्दत गर्दैन,” उनले बताइन्।यदि तपाईँ हाल बेरोजगार हुनु हुन्छ यसले तपाईँको मद्दत गर्दैन। तपाईँले अपर्याप्त जबसीकर भुक्तानीको सहारा लिनु पर्ने हुन्छ। यस भुक्तानी लिनका लागि पूरा गर्नु पर्ने मापदण्डहरूले धेरै कम मानिसहरूलाई मात्र समावेश गर्ने, र अहिलेको लागि कमसेकम सहयोगी चाहिँ रहेको उनले बताइन्।
त्यस्तै अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्सकी प्रमुख मिशेल ओ’नीलले यस भुक्तानी नियमित आयको प्रतिस्थापन नभएको, र यसले लकडाउन हटेपछि भिक्टोरियालीहरूले आफ्नो रोजगार फिर्ता पाउने ग्यारेन्टी नदिने बताइन्।भिक्टोरियाका व्यवसाय तथा कर्मचारीहरूले पछिल्ला केही दिन देखि आर्थिक सहयोगका लागि संघीय सरकारलाई आग्रह गर्दै आएका छन्। यस साप्ताहिक आर्थिक सहयोगमा लाग्ने खर्च मोरिसन सरकार र भिक्टोरिया सरकार बीच आधा-आधा विभाजित हुनु पर्ने प्रधानमन्त्री मोरिसनले बताए।यस आर्थिक सहयोगका लागि मानिसहरूले सोमबार सात जुन देखि आवेदन हाल्न पाउने छन्।
त्यस्तै, घाटामा गएका भिक्टोरियाली व्यवसायहरूको मद्दतका लागि भिक्टोरियाली सरकारले थप बीस करोड ९० लाख अस्ट्रेलियाली डलर खर्च भनेको छ। यस अघि गत आइतबार पनि राज्य सरकारले २५ करोड डलरको आर्थिक सहयता प्याकेज तयार परेको थियो। स्रोत : एस बि एस नेपालि
Views: 0